अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरीका खानेकुराको फोटो आउँछ । हामीमध्ये कति त होला नि त्यो सुपर फुड अर्थात् अत्युत्तम भोजन भनेर किनिहाल्छौँ महँगोमा । प्रयोग गर्दा दंग पर्छौं –“आहा सुपर फुड खाइयो” । तर यो वास्तविक हो र ?
‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न । महँगो र राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ । तर अनेक अनुसन्धानकर्ताले विभिन्न भोजनको विश्लेषण गरेर दैनिक पोषण कस्तो खानुपर्छ ? के के ‘सुपर फुड’ छन् भनेर लेखेका छन् ।
हाम्रो भान्छामा पाइने लोकप्रिय सस्तोे भोजन पनि ‘सुपर फुड’ हुन्छ भनेर हामीले थाहा पाए राम्रो । ‘सुपर फुड’ लाई कसरी प्रयोग गर्दा पौष्टिक तत्व कायम रहन्छ भन्ने पनि जानकारी पनि जरुरी छ । उदाहरणका लागि कागती, अमला, सुन्तला आदि भिटामिन ‘सी’ ले भरिपूर्ण सुपर फुड हुन् । तर यस्ता फलफूल पकाएपछि रहेको भिटामिन ‘सी’ नष्ट हुन्छ । अमला र फलफूल सकेसम्म नपकाएकै राम्रो ।
मनतातो पानीमा कागती हालेर खाँदा भिटामिन ‘सी’ नष्ट हुँदैन । अम्बा र हलुवावेद पनि ‘सुपर फुड’ हुन तर बेवास्ता भएका छन् । किनभने यिनीहरू तुलानात्मकरूपमा एभकाडो र स्याउभन्दा सस्ता हुन्छन् । सस्तो फलफूल के राम्रो होला र भन्ने भ्रमले हामी ग्रसित छौं ।
‘सुपर फुड’मा शरीरलाई आवश्यक पर्ने पोषण तत्व हुन्छ । यसले शरीरको रोगसँग लड्ने शक्ति प्रदान गर्छ, रोग लागिहाले पनि छिटै तंग्रिन मद्दत गर्छ । यही कारण विशेषगरी कोरोनाको बेला ‘सुपर फुड’ को ठूलो प्रचार भयो, यसकोे ठूलो व्यापार पनि भयो । तर कति ‘सुपर फुड’ त हामीले दिनदिनै प्रयोग गर्ने भोजन हो तर त्यसको महत्वबारे हामीलाई थाहा नभएकाले र भान्छाको ‘सुपर फुड’ भनेर चिनिएको छैन । हाम्रा वरिपरिका कतिपय भोजन ‘सुपर फुड’ हुन्छन् । मैले यहाँ यस्ता केही मात्र सुपर फुडबारे लेखेकी छु जसबारे विचार नै गरिन्न ।
“गुलियो आलु” अर्थात् सखरखण्ड नेपाली समुदायमा प्रायः व्रतको बेला खाइन्छ । भिटामिन ‘ए’ र ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण हुन्छ । तर यसलाई उसिन्दा केहीबेर मात्र उसिन्नुपर्छ नत्र यसमा रहेको १२% पौष्टिक तत्व नष्ट हुन्छन् । शिशुलाई बाहिरका अनेक रंगीचंगी बट्टाको महँगो भोजनको सट्टा सखरखण्डजस्तो वस्तु ख्वाउँदा पनि उत्तम हुन्छ । यसमा क्याल्सियम, भिटामिन बी १२ र लौह तत्व भएको शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । तरकारी, दाल, चना, चिउरामा हालेर खान सकिने सखरखण्ड नबुझेकाले हामी प्रयोग धेरै गर्दैनौँ ।
अदुवा ‘सुपर फुड’ भनेर विचार नै गरिन्न । अदुवाले पाचन प्रणली सुधार्न मद्दत गर्छ । चिसो लागेको बेला औषधिका रूपमा प्रयोग गरिन्छ । वैद्यहरू त भन्छन् – “अदुवा र कागती भएको घरमा वैद्यको जरुरत पदैन ।” अर्थात् त्यहाँका मानिसलाई रोग लाग्दैन ।
भान्छाको अर्को सुपर फुड फर्सी अति अपहेलित छ । फर्सी सहजसँग पाइने हुनाले हामीले यसको महत्व नबुझेको होला । तर अस्ट्रेलियामा फर्सीको सुपचाहिँ “उत्तम” भनेर खाइन्छ । यसमा भिटामिन ‘ए’ धेरै रहन्छ । फर्सीलाई बोडीमा मिसाएर खान सकिन्छ । उसिनेर मासुमा मिसाएर खाने चलन पनि छ । विभिन्न तरिकाले अन्य भोजनमा मिश्रण गरेर खाँदा यसको पौष्टिक तत्व अझ बढ्न जान्छ । गाजर, डल्ले खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज पनि ‘सुपर फुड’ नै हुन् । यिनीहरू धेरै औषधीय गुणले भरिपूर्ण हुन्छन् ।
गाजर कोरेर दालमा हालेर खान सकिन्छ । सलादका रूपमा काँचो खाँदा पनि हुन्छ । गाजरलाई भात, चिउरा, भुजामा पनि मसिनो गरेर हाल्न सकिन्छ । यसको खिर वा हलुवा पनि स्वादिलो र स्वस्थकर हुन्छ । यसरी एउटै भोजनबाट अनेकथरीका परिकार बनाएर खान सकिने वस्तु गाजरलाई ‘सुपर फुड’ मान्न गाह्रो नमाने हुन्छ । अलिकत लसुन फुराएर बनाएको जाउलो, विभिन्न अन्न भुटेर पिसेर बनाएको लिटो शिशुका लागि सुपर फुड हुन् ।
हाम्रो वरपर पाइने विभिन्न प्रकारका स्थानीय र मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन । अम्बा, भोगटे, हलुवावेद, बयर, सुन्तला, आँप, अनार आदि । तर अनार र आँप महँगो भएकाले सुपर फुड अनि अम्बा र हलुवावेद भने खास महत्व नभएको ठान्ने हाम्रो विचारलाई विभिन्न वैज्ञानिक अनुसन्धानहरूले गलत सबित गरेका छन् । यी सबै फलफूल अनेक सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छन् । रोगसँग लड्ने शक्ति दिन्छ । यिनमा रेशादार तत्व पनि पर्याप्त हुन्छ । त्यसैगरी पैयुँ, बयर, काफल आदि पनि सुपर फुड हुन् ।
वयरलाई सुकाएर बोक्रा र बियाँसमेत नै मीठो अचार बनाउने चलन थारूहरूको पहिलेदेखि छ । यो अचार भात, रोटी, चिउरासँग खाँदा स्वास्थ्य र स्वाद दुवै पाइन्छ । तर बयरले जस्तो सस्तो कुरा र त्यसबाट बनेको अचार ‘सुपर फुड’ हो भन्ने विश्वास गर्न हामीलाई गाह्रो हुन्छ । किनभने हामी सबैजनालाई ‘सुपर फुड’ भनेपछि महँगो हुन्छ भन्नेमा विश्वास छ ।
हाम्रो वरिपरि पाइने मेथी, रायो, पालुङ्गो, पुदिना आदि पनि ‘सुपर फुड’ हुन् । यिनमा रहेका तत्वले शरीरलाई स्वस्थ राख्छ, बुढ्यौलीतर्फ धकेल्ने प्रक्रियालाई कमजोर पार्छन् । यिनमा पर्याप्त मात्रामा रेशादार पदार्थ हुन्छन् यसले पेटस्वस्थ रहन्छ र मोटोपन घट्न मद्दत गर्छ ।
कर्कलो अपहेलित सुपर फुड हो । अरू केही नभएपछि कर्कलो खाइन्छ भन्ने कतिलाई भ्रम छ । वास्तवमा यसमा रहेको लौह तत्व र प्रोटिनका कारण यो उच्च सुपर फुड मानिन्छ । ऋषि पञ्चमीमा कर्कलो भात खानेबाहेक अरूबेला प्रायः कर्कलो प्रयोग गरिन्न । कर्कलोको पात डाँठ मासको दालमा मिसाएर मस्यौरा बनाउन सकिन्छ । यसरी मस्यौरा बनाएर राखेपछि यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ ।
दाल र कर्कलो दुवैमा प्रोटिनको मिश्रण उच्च स्तरको हुन्छ । मस्यौराको तरकारी बनाउन सकिन्छ । सुकाएर राखेको मस्यौरा हुनाले यो लामो समय सुरक्षित राख्न सकिन्छ । सानो बालकदेखि वयस्क वृद्ध सबैलाई सहजै प्रयोग गर्न सकिन्छ । मस्यौरा र गुन्द्रुकको रससँग भात वा ढिँडो खाँदा कति स्वादिष्ट हुन्छ भन्नै पर्दैन ।
पोषण विज्ञहरूको भनाइअनुसार महँगा बाहिरबाट ल्याएका खाना होइनन् बरु परम्परादेखि चलिअएका हाम्रो जिब्रोमा स्वाद दिने शरीरलाई स्वस्थ बनाउने र जरुरत परेको बेलामा औषधिको काम गर्ने भोजन नै ‘सुपर फुड’ हुन् ।