सहकारी ठगी प्रकरणमा बयानका लागि हवाइजहाजमा चितवन ल्याइयो रवि लामिछानेलाई, बयान सुरु

चितवन – सहकारी ठगी प्रकरणमा काठमाडौँ, पोखरा र भैरहवामा बयान दिइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन मंगलबार भरतपुर ल्याइएको छ । अहिले जिल्ला न्यायाधिवक्ताको कार्यालय भरतपुरमा लामिछानेको बयान लिने काम भइरहेको छ ।

काठमाडौँबाट हवाइजहाजमा भरतपुर ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत पु¥याई जिल्ला न्यायाधिवक्ताको कार्यालय लगिएको हो । लामिछानेलाई भरतपुर ल्याएपछि रास्वपाका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

चितवन प्रहरीले आइतबार मात्रै पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) छविलाल जोशी र अर्का आरोपित रामबहादुर खनाललाई भरतपुर ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिइरहेको छ । जोशी र खनाल पनि कास्की प्रहरीको हिरासतमा थिए । सहारा चितवन बहुद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताहरूले गोरखा मिडियालगायत चितवन सहाराका संस्थापक गितेन्द्रबहादुर (जिबी) राईका विभिन्न कम्पनीहरूमा नियम विपरीत सहकारीको बचत रकम लगानी भएको भन्दै उजुरी दिएका छन् ।

रवि लामिछाने गोरखा मिडियाका तत्कालीन सेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक तथा छविलाल जोशी गोरखा मिडियाका तत्कालीन सेयरधनी तथा सञ्चालक हुन् । गोरखा मिडिया नेटवर्कमा नियम विपरीत सहारा चितवनको १० करोड ८० लाख रुपैयाँ लगानी भएको बचतकर्ताहरूले उजुरीमा उल्लेख गरेका छन् । रामबहादुर खनाल जिबी राईको अर्को कम्पनी नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सेयरधनी तथा सञ्चालक हुन् ।

नेचर हर्ब्स इन्टरनेशनल प्रालिमा सहारा चितवनको नौ करोड ७३ लाख रुपैयाँ लगानी भएको उजुरीमा उल्लेख छ । सहारा चितवनका बचतकर्ताहरूले गत वर्ष २०८० को असोज नौ गते चितवन प्रहरीमा अनुसन्धान र कारबाहीको लागि उजुरी दिएको थिए । तर अनुसन्धान खासै अगाडि बढेको थिएन । मुद्दा दायर गर्नु पर्ने हद म्याद नजिक आएपछि चितवन प्रहरीले गत असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको थियो । जसमा रवि र छविको नाम थिएन ।

Forbes

मुद्दा दायर भएकै दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले सहकारीको रकम गएको देखिएको गोरखा मिडियाको थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सहारा चितवनका २४ जना बचतकर्ताहरूले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै मंसिर ५ गते बुधबार रवि लामिछाने र छविलाल जोशीसहित १० विरुद्ध पुरक उजुरी दिएका थिए् । उनीहरू विरुद्ध मंसिर ७ मा पक्राउ पुर्जी जारी भएको थियो ।

गत असोजमा मुद्दा दायर हुँदा जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट रकम गएको भनिएको गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबरको कारोबार के केसरी, को कोसँग भएको हो, विवरण प्राप्त भएको नदेखिएको हुँदा सो सम्बन्धमा कानुन बमोजिम थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीमा उजुरी दिएका ४४६ जनापीडित बचतकर्ताहरूको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनु पर्ने देखिएको गत असोजमा दायर भएको अभियोगपत्रमा उल्लेख छ । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ बचत जम्मा भएको चितवन प्रहरीको अनुसन्धानले देखाएको थियो । बचतकर्ताहरू ६ हजार ३३४ जना रहेका छन् ।

यो मुद्दामा हालसम्म चितवन प्रहरीले आफ्नै सक्रियतामा कसैलाई समाएको छैन । यसअघि कास्की प्रहरीले नै नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई पनि चितवन प्रहरीले गएको भदौमा भरतपुर ल्याएर बयान लिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु