चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकीडाँडास्थित ऐतिहासिक कविलास गढीमा राष्ट्रिय झण्डा राखिएको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालले शनिबार एक कार्यक्रमबिच कविलास गढीमा झण्डोत्तोलन गरेकी हुन् ।
जानकारहरुका अनुसार कविलास गढीको निर्माण १८३० सालतिर तनहुँका तत्कालीन राजा हरकुमार दत्त सेनले अङ्ग्रेजहरुसँग लड्नको लागि गरेका थिए । त्यतिबेलाका राजाहरु तराईमा शिकार खेल्न यही बाटो भएर जाने गर्दथे । यो ठाउँ तराई र पहाड आवतजावत गर्ने प्रमुख व्यापारिक नाका थियो ।
नारायणगढ बजारबाट १८ किलोमिटर पूर्वमा रहको भोर्लेबाट करिब आधा घण्टा उकालोको पैदल यात्रापछि समुद्री सतहबाट १ हजार १ सय मिटरको उचाइमा रहेको चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरेर कविलास गढीमा राष्ट्रिय झण्डा फहराइएको हो ।
झण्डोत्तोलन कार्यक्रममा भरतपुरका उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो ।
कविलास गढीमा इनार छ । पुराना घरका अवशेष छन् । चार वटा खाडल छन्, जसलाई स्थानीयले तारा खसेको खाडल भन्छन् । नागबेली परेर तल बगिरहेको नारायणी नदी मनमोहक लाग्छ । जुगेडी, नारायणगढ र देवघाट प्रष्ट देखिन्छन् । डाँडामा सिरसिर बतास चलिरहन्छ ।