चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शनिबार एक समारोहबिच भरतपुर–२९, चौकीडाँडास्थित राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटन गरेकी छन् । भवन उद्घाटन कार्यक्रममा रिबन काटेपछि शिलालेख अनावरण गरेर मेयर दाहालले विद्यालय भवन उदघाटन गरेकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि मेयर दाहालले २९ नम्बर वडा भरतपुर महानगरको महत्वपूर्ण सम्पति भएको बताइन् । ‘यसलाई जोगाउन कोसिस गरिरहेका छौं’ उनले भनिन्, ‘ गर्मी याममा घुम्न आउने एउटा महत्वपूर्ण ठाउँ हुनेछ कविलास । यहाँको पिकनिक स्पट चल्नेवाला छ ।’
चौकीडाँडामा भ्युटावर आवश्यक नभएको तर स्थानीयको माग भएपछि बनेको बताउँदै उनले भनिन्, ‘भोर्लेदेखि चौकीडाँडासम्म बाटो स्तरोन्नति हुँदैछ । संघीय सरकारबाट ४० करोडको ठेक्का भएर काम अगाडि बढेको छ । चौकीडाँडा खानेपानी आयोजना सम्पन्न भइसकेको छ ।’
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले शिक्षाको महत्वमाथि प्रकाश पार्दै भने, ‘शिक्षा अनिवार्य छ । बालबालिकाको अधिकार हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चौकीडाँडाको विकास र समृध्दिको लागि महानगर क्रियाशील रहेको बताए ।
महानगरको शैक्षिक महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले नवनिर्मित भवन ५५ लाख रूपैयाँ लागतमा निर्माण भएको जानकारी दिए । ‘यो विद्यालय भरतपुर महानगरको पहाडी क्षेत्रको एकमात्र मावि हो’ उनले भने, ‘यस विद्यालयबाट यस वर्ष पहिलोपटक १४ जना विद्यार्थी एसइईमा सहभागी हुँदैछन् ।’
भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । वडाध्यक्ष गुरुङले चौथो पटकको प्रयासमा उदघाटन कार्यक्रम शनिबार सम्पन्न गर्न सकिएको बताए ।