नेपाल जर्नी अमेरिकाकी संस्थापक अध्यक्ष मौसमी श्रेष्ठ र उनका पति बद्री श्रेष्ठ नेपाल आएका बेला २०७२ सालको महाभूकम्पमा परे । बच्चाहरु पनि सँगै थिए । श्रेष्ठ परिवार भूकम्पबाट त बच्यो तर उनीहरु फर्कने बेलामा नेपालले महाभूकम्पमा व्यहोरेको क्षतिले उनीहरुको मन दुखायो । नेपाललाई केही गर्नु पर्छ भन्ने भावनाले नेपाल जर्नी स्थापनाको विचार जन्मियो आकासमै । नारायणगढ निवासी श्रेष्ठ दम्पतीले अमेरिका फर्किने बेलामा विमानभित्रै नेपाल जर्नीको परिकल्पना गरे ।
सन् २०१५ मा संस्था दर्ता हुनुपूर्व नै नेपाल जर्नी अमेरिकाले अमेरिकामा समेत समाजसेवाको काम सुरु ग¥यो । संस्थालाई दिगो राख्न जरुरी थियो । त्यसैले सन् २०१५ मा अमेरिकामा नेपाल जर्नी अमेरिका दर्ता गरियो । नेपाल जर्नी अमेरिका स्थापना भएपछि भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माणमा यो संस्था लाग्यो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा गर्ने पवित्र उद्देश्यले स्थापना भएको नेपाल जर्नी अमेरिकाले नेपालमा नेपाल जर्नी नेपाल संस्था दर्ता गरी काम सुरु ग¥यो ।
नेपाल जर्नीले नेपालमा १५ वटा परियोजनामा काम गरेको बताउँछन् नेपाल जर्नी अमेरिकाका संस्थापक उपाध्यक्ष बद्री श्रेष्ठ । नेपाल जर्नीको प्राथमिकतामा शिक्षा क्षेत्र त्यसमा पनि पुस्तकालय स्थापना रहेको छ । उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘विद्यालयमा पुस्तक दिने, पुस्तकालय बनाइदिने, विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर पढाइदिने काम नेपाल जर्नीले गरेको छ । हामीले क्यान्सरका बिरामीलाई भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएका छौँ । ह्वीलचियर वितरण गरेका छौँ । हामीले नेपालमा सबै काम नेपाल जर्नी नेपालमार्फत् नै गरेका छौँ ।’
नेपाल जर्नीले हेटौँडामा सामुदायिक पुस्तकालय स्थापना गरेको छ, जसको व्यवस्थापन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरिरहेको छ । नेपाल जर्नीले बालकुमारी स्कुलमा पुस्तकालयलाई पुनर्निर्माण गर्ने काम ग¥यो । यसले रामेश्वर पुस्तकालय क्षेत्रपुरमा पनि सहयोग गरेको छ । ‘सात वर्षअघि चेपाङ गाउँ कान्दामा हिँडेरै गएर पुस्तकालय बनायौँ’ श्रेष्ठ भन्छन्, ‘नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र लमजुङमा पनि पुस्तकालय बनाएका छौँ । माडीमा बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराएका छौँ ।’
‘हामी आफै पनि शिक्षा क्षेत्रमा भएको र नेपालमा शिक्षा क्षेत्रको विकास जति हुनु पर्ने त्यति नभएको जस्तो लागेर शिक्षा क्षेत्र रोजेका हौँ । गाउँगाउँमा विद्यालय त छ तर किताब छैन, पुस्तकालय नै छैन । संसार डिजिटलाइजेसन युगमा छ । नेपालका बालबालिकाहरुको पहुँच पनि डिजिटलाइजेसनमा पुगोस् भनेर ईलाइब्रेरीको अवधारणा ल्याएका हौँ’ पुस्तकालयमा जोड किन ? भनी सोध्दा श्रेष्ठ भन्छन्, ‘पुस्तकालय भनेको किताबले भरिएको कोठा मात्र होइन, पुस्तकालय भनेको एउटा सामुदायिक केन्द्र पनि हो । त्यहाँ आएर आफूले जानेका कतिपय कुरा अरुलाई भन्न सकिन्छ । कतिपय कुरा अरुबाट सिक्न सकिन्छ । संसारसँग जोडिन सकिन्छ ।’
पाँच करोडको पुस्तकालय
नेपाल जर्नीले भरतपुर महानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयकै आडमा अढाई कठ्ठाभित्र अपाङ्गता भएका व्यक्तिमैत्री विद्युतीय पुस्तकालय निर्माण गरिरहेको छ । पुस्तकालय भवन निर्माणका लागि जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको हो । उपाध्यक्ष श्रेष्ठले यसका लागि भरतपुर महानगर प्रमुख रेनु दाहालप्रति कृतज्ञता व्यक्त गरे ।
करिब पाँच करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको पुस्तकालयको भवन मात्रै दुई करोड ८४ लाख ९५ हजार रुपैयाँ (भ्याटबाहेक) ठेक्कामा निर्माण भइरहेको छ । गत वर्ष मंसिर १२ गते निर्माण सुरु गरिएको यो भवन आगामी वर्ष जेठमा निर्माण सम्पन्न हुनेछ । अहिलेसम्म पुस्तकालय भवनको ७० प्रतिशत निर्माण कार्य पूरा भएको नेपाल जर्नी नेपालका अध्यक्ष कमलप्रसाद आचार्यले जानकारी दिए । भवन निर्माणको काम सकिएपछि आन्तरिक सजावटको काम सुरु गरिने उनले जानकारी दिए ।
भवनको आन्तरिक सजावटसँगै पुस्तक, कम्प्युटर र मल्टीमिडियामा दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पुस्तकालयलाई आवश्यक आर्थिक सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले दाताहरुसँग आह्वान समेत गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिमैत्री विद्युतीय पुस्तकालय अपाङ्गता भएकाहरुको लागि त भइहाल्यो । त्यसबाहेक बालबालिका र वृद्धवृद्धाका लागि पनि कोठाहरु बनाइने उपाध्यक्ष श्रेष्ठले बताए । अपाङ्गता भएका व्यक्तिमैत्री भवन भएकोले भुइँतलामा सजिलै ह्वीलचियर जान सक्ने, त्यहाँबाट पहिलो तलामा जानका लागि लिफ्टको व्यवस्था गरिने उनले जानकारी दिए । बालबच्चा लिएर आउने आमाबुवाहरुका लागि समय कटाउन धार्मिक पुस्तकसहितको ध्यान कक्षको व्यवस्था गरिने श्रेष्ठको भनाइ छ ।