चितवन – यसपालि बर्खामा नारायणी नदी बेस्सरी उर्लियो । भरतपुर महानगरपालिकाले तटीय क्षेत्रमा गत वर्ष तटबन्धको काम सुरु नगरेको भए यस वर्ष नारायणी बस्तीमा पुगेर बितण्डा मच्चाउने थियो तर तटबन्धको कारण तटीय क्षेत्रका बस्ती जोगिएका छन् ।
विगत १५ वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकै पटक रु पाँच अर्बको काम अघि बढाइएको छ । जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम भइरहेको छ । चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन ।
नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । अर्काे एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्म रु ४८ करोडमा र तेस्रो खण्ड रामघाटदेखि काभ्रेघाटसम्म रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भई कामले निरन्तरता पाएको छ ।
सम्झौता भइसकेका तीन खण्ड ५ किलोमिटर लम्बाइका दरले रहेका छन् । गत वर्ष कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको सात किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भार रहेको छ । यसका लागि रु २३ करोडमा ठेक्का सम्झौता भएको थियो ।
चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध भएको छ । गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको जानकारी दिइन् । यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उनको भनाइ छ ।
भरतपुर महानगरपालिका–२६ भगडीकी पार्वती पौडेल यसपालि बर्खामा तटबन्धले बस्ती बचाएको बताइन् । उनले भनिन्, ‘तटबन्ध नभएको भए हाम्रो बस्ती डुबिसकेको हुन्थ्यो ।’ पछिल्ला वर्षहरुमा तटबन्धका कारण बस्ती जोगिएको उनको भनाइ छ । भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल तटबन्धका कारण पश्चिम चितवन जोगिएको बताउँछन् । भरतपुर–२८ का वडाध्यक्ष दण्डपानी रिजालले बर्खामा नारायणी नदी उर्लिएको भए पनि तटबन्धले जोगाएको बताए ।
नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी चार अर्ब ७२ करोड रुपैयाँमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताउँछिन् । डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उनको भनाइ छ । उनले भनिन्, ‘भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झन्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ । ती ठाउँका लागि पहल भइरहेको छ ।’
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्सालका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ । नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिएको छ । अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गत वर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उनले बताए ।


