चितवन – भरतपुर महानगरपालिका–१५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको खेल मैदान । खेलमैदानमा अभ्यास खेलमा व्यस्त थिए नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजका खेलाडीहरु । खेल मैदानमा खेल चलिरहँदा चितवन राइनोजका एक जोडी ‘मस्कट’ को चकचक हेर्नलायक थियो ।
खेल मैदानमा यता र उता गरिरहेका जोडी मस्कटले खेलाडीहरुलाई जिस्काइरहेका थिए । कहिले सिङ जुधाउन पुग्थे उनीहरु त कहिले चौरमै मस्त नाच्थे । कहिले वरपर गर्दै पिचलाई घुम्थे । अभ्यास खेल हेर्न रंगशाला पुगेका दर्शकहरु मस्कटहरुको चकचक हेरेर आनन्द मानिरहेका थिए ।
बुधबारदेखि सुरु गरिएको अभ्यास खेल केही लिन जारी रहेको चितवन राइनोज स्पोर्टस् क्लबका अध्यक्ष आयुष न्यौपानेले बताए । अभ्यास खेलमा खेलाडीहरुले प्रदर्शन गरेको खेल हेर्दा चितवन राइनोजले फाइनल प्रवेश गर्ने निश्चित भइसकेको र उपाधि हत्याउनेमा पनि आफू आशावादी रहेको अध्यक्ष न्यौपानेले बताए । टिमका खेलाडीहरु युवा भएका र अनुभवी विदेशी खेलाडीहरु पनि टिममा भएकोले सहजै फाइनल प्रवेश गर्ने उनको भनाइ छ ।
मंसिर १५ गतेदेखि कीर्तिपुर खेल मैदानमा एनपिएल सुरु हुँदैछ । नेपालमा पहिलोपटक प्रिमियर लिगका रुपमा एनपिएलको आयोजना भएको हो ।







