निर्माणाधीन रंगशालामा चितवन राइनोजको अभ्यास खेल

चितवन – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले भरतपुर महानगरपालिका–१५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अभ्यास खेल जारी राखेको छ । बुधबारदेखि सुरु गरिएको अभ्यास खेल बिहीबार पनि जारी रहेको चितवन राइनोज स्पोर्टस् क्लबका अध्यक्ष आयुष न्यौपानेले बताए ।

अभ्यास खेलमा खेलाडीहरुले प्रदर्शन गरेको खेल हेर्दा चितवन राइनोजले फाइनल प्रवेश गर्ने निश्चित भइसकेको र उपाधि हत्याउनेमा पनि आफू आशावादी रहेको अध्यक्ष न्यौपानेले बताए ।

‘टिमका खेलाडीहरु युवा जोशले भरिएका छन् । त्यसमाथि अनुभवी विदेशी खेलाडीहरु पनि भएकोले हाम्रो टिम सहजै फाइनल प्रवेश गर्नेछ । उपाधि जित्नेमा हाम्रो जोड रहने छ’ उनले भने ।

चितवन राइनोजको टाइटल स्पोन्सरमा ब्लु स्टार रहेको छ । यस टिमको मुख्य प्रायोजकमा चितवन मेडिकल कलेज रहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अभ्यास खेल हेर्न मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने पनि पुगेका थिए ।

अभ्यास खेल हेरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘गैँडाको जस्तै उत्साह लिएर आएका युवा खेलाडीहरुको टिम बनेको छ चितवन राइनोज । यसले उपाधि जितेर घर फर्कने छ भन्नेमा म पूर्ण आशवादी छु ।’

यसैबीच, चितवन राइनोज टिमका खेलाडीहरुले बिहीबार बिहान मौलाकाली केबुलकार चढेर मौलाकालिका मन्दिर पुगेका थिए । उनीहरुलाई मौलाकाली केबुलकारका स्टेशन म्यानेजर सुरज पौडेलले खादा लगाइदिएर स्वागत गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू