पूर्वसभामुख दमननाथ ढुंगानाको निधन, अन्त्येष्टि भोलि

काठमाडौँ — पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो दुई बजे उनको निधन भएको हो । दिवंगत ढुंगानाको अन्त्येष्टि सोमबार गरिने भएको छ ।

कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि सोमबार अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताए । स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन् । उनको शवलाई सोमबारसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने नेता ढकालले बताए ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे ।

२०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएका थिए । त्यसपछि उनी सभामुख भए । २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएका थिए । त्यसपछि उनी सभामुख भए । २०४८ देखि २०५१सम्म सभामुख भएर काम गरे । २०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक २०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए ।

ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए । नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहेपनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए ।

Forbes

माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेलेका थिए । सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् । उनी भन्ने गर्थे,‘लोकतन्त्रका लागि जति मैले काम गरें, त्यति काम पार्टीका लागि गर्न सकेको छैन ।’

शनिबार राति असजिलो भएपछि

शनिबार दिउँसोसम्म ढुंगानालाई बत्तीसपुतलीस्थित घरमा सकुशल भेटेको, तर आइतबार निधनको खबर सुन्दा स्तब्ध भएको उनका साढु दाइ मदनराज शर्माले बताए । उनले भने, ‘हिजो मैले घरमै भेट्दा राम्रै थियो ।’

उनले शनिबार राति असजिलो भएपछि घर नजिककै भएका कारण फ्रन्टलाइन अस्पताल लगिएको हुनसक्ने उनले बताए । ढुंगाना नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा कलेजो रोगको उपचार गरी तिहारअघि काठमाडौं फर्किएको शर्माले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु