चितवन – बालकुमारी कलेज नारायणगढले शनिबार र आइतबार सौराहामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ । कलेजले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी दिएको हो ।
सम्मेलन आयोजक समितिका संयोजक डा. गुणराज क्षेत्रीले दुईदिने सम्मेलनमा नेपाल, चीन, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड र अस्ट्रेलियाका विज्ञहरुबाट ५० वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनमा सय जना जति सहभागी हुने छन् । सहभागिता शुल्क नेपालीलाई ५ हजार रुपैयाँ र विदेशीलाई ६० डलर तोकिएको छ ।
समावेशी र दिगो विकासको लागि रुपन्तरण, नवप्रवर्तन र डिजिटलाइजेसन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नवप्रवर्तन र डिजिटल प्रविधिलाई समावेशी र दिगो विकासको प्रमुख आधार बनाउन सकिने विषयमा गहन छलफल गरिने संयोजक क्षेत्रीले जानकारी दिए ।
बालकुमारी कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्राचार्य जगदीश्वर खनाल, पूर्वप्राचार्यद्वय शिवप्रसाद पौडेल र चुननारायण श्रेष्ठले पनि बोलेका थिए ।


