काठमाडौं – नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थपेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्याउन २२ जना सदस्य थप गरेको हो ।
थपिएका सदस्यहरुको नाम केन्द्रीय समिति बैठकले अनुमोदन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यसअघि, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।
अहिले केन्द्रीय समितिको आकार केही ठूलो देखिएपछि विधान सम्मेलनपछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताए ।
शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ६८ जनाले धारणा राखेको र जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता महराले जानकारी दिए । बोलेअनुसार काम गर्नुपर्ने र पार्टी निर्माणका साथै विस्तामा सदस्यहरुले जोड दिएको उनले बताए ।
त्यस्तै, समाज विचार राख्नेसँग एकता र ध्रुवीकरण गर्नुपर्ने पनि सदस्यहरुको भनाइ रहेको प्रवक्ता महराले बताए । माओवादी बैठक शनिबार बिहान ११ बजे पुनः बस्ने र धारणा राख्ने क्रम जारी रहने महराले जानकारी दिए ।