सोलुखुम्बु –सोलुखुम्बु, ओखलढुंगा र खोटाङबाट अवैध रूपमा उदयपुरको पहाडी इलाका हुँदै तराई तथा भारत लैजाने क्रम मौलाएको छ।
गौहत्यालाई नेपालको कानुनुले बर्जित गरेको भएपनि जिल्लाबाट पछिल्लो समयमा अत्यधिक रूपमा पशुचौपाय बाहिर तस्करी भइरहेको स्थानीयले बताएका छन्।


गाउँघरबाट संकलन भएको गाई गोरु जिल्लाको नेचासल्यान गाउँपालिकाको झाँजरे नाका हुँदै ओखलढुंगाको चिंखुगढी, खोटाङको रावाबेसी हुँदै उदयपुरको बेल्टारतर्फ लैजाने गरेको तथ्य भेटिएको छ।
कृषकले घरमा पालेको गाई गोरु काटमारका लागि दिउँसै लगिरहेको भएपनि स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चासो नदिएको सरोकारवालाहरूको गुनासो छ।
एक गाई गोरु संकलन कर्ता (खेदुवा)ले भने, ‘जिल्लाको विभिन्न स्थानमा गाई गोरु संकलनका लागि मान्छे खटाइन्छ अनि संकलन गरेर त्यो टोलीले नेचा स्थित झाँजरेसम्म ल्याउँछन्। त्यसपछि सम्पर्कमा आएका खोटाङ र ओखलढुंगाबाट खटिएका पशुचौपायाका खेदुवाले उदयपुर तथा भारतसम्म नै लैजान्छन्।’
उक्त गाई गोरुहरू देशकै विभिन्न स्थान तथा भारतमा लगेर बध गरिने गरेको पशु संकलनकर्ता स्वयम् बताउँछन्। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले यी विषय नियन्त्रण गर्न पहल गर्ने बताएका छन्।
प्रजिअ भट्टराईले भने, ‘यस्ता विषयहरूलाई प्रशासनले गम्भीर रूपमा लिन्छ, आफू आवश्यक अनुसन्धान पछि परिणाम आउने गरी काम गर्छौं।’