चितवनका पान व्यवसायीको कथा : व्यापार घटे पनि पुर्ख्यौली पेशालाई निरन्तरता

चितवन – नारायणगढको बेलचोकमा प्रकाश महतोको ‘पिन्टु पान पसल’ छ । उनी बिगत ३५ बर्षदेखि पान पसल चलाउदै आएका छन् । भारतको रक्सौल घर भएका महतोले बुवाबाट पान बनाउन सिके ।

उनका बुवा घरमा नै पान बनाउथे । बुवाले पान बनाएको देखेर उनमा पनि रहर जाग्यो । बुवाले पान बनाएको हेरेरै उनले पनि सिके । पान बनाउने सिप सिकेर उनी नारायणगढ बजार आए । सानो ठाउँमा थोरै लगानिमा पनि सुरु गर्न सकिने भएपछि नारायणगढमा पान पसल खोले ।

पुर्ख्यौली पेशालाई नै निरन्तरता दिनका लागि पनि पान पसल सुरु गरेको उनी बताउँछिन् । उनी नारायणगढ आउँदा यहाँ दुई-चार वटा मात्रै पान पसल थिए । अहिले दर्जनौं पान पसल खुलिसकेका छन् । उनी पान बनाउने मात्रै होइन, थोकमा पानका पात समेत बिक्री गर्छन् । भारतबाट पानको पात ल्याएर उनी यहाँ थोकमा बिक्री गर्छन् ।

पानको व्यापार सामान्य वर्गका ग्राहकहरुबाट नै बढी हुने गरेको उनी बताउँछन् । मिठा र जर्दा मध्ये मिठा पान नै बढी बिक्री हुने गरेको उनी सुनाउँछन् । पछिल्लो समय पान पसल बढे पनि व्यापार भने निरन्तर घट्दै गएको उनी बताउँछन् । पहिले दिनमै आठ हजारसम्मको व्यापार हुने गरेको थियो । अहिले मुस्किलले दुईदेखि तीन हजारको व्यापार हुने गरेको उनी बताउँछन् ।

अहिले मानिसहरुले पानको विकल्पमा शरीरलाई हानिकारक हुने मद्यपान गर्दा व्यापार घटेको उनको बुझाई छ । “पछिल्लो समय भोला, गुट्का खान्छन्, उनी भन्छन्, त्यसैले पनिको व्यापार घट्दै गएको हो ।” उनले पसलमा पानसँगै किरानाका सामाग्रीहरु पनि राखेका छन् । पुर्ख्यौली पेशालाई निरन्तरता दिनका लागि मात्रै पान पसल गरिरहेको उनी बताउँछन् ।

Forbes

उनले बुवासँग सिके जस्तै उनका सन्तानले पनि उनीबाट पान बनाउन सिकिरहेका छन् । “मैले बुवाबाट पान बनाउन सिके, अहिले मेरो छोराहरु मबाट सिक्दैछन्, उनी भन्छन्, पुर्ख्यौली पेशालाई निरन्तरता दिएका छौं ।”

नारायणगढकै गणेश हलमार्गमा विपिन शाहले २२ बर्षदेखि पान पसल चलाईरहेका छन् । उनले पनि बुवाबाट नै पान बनाउन सिकेका हुन् । बुवाले सञ्चालन गर्दै आएको पान पसललाई नै उनले निरन्तरता दिएका हुन् ।

उनी बुवासँगै पान पसल बस्थे र बुवाले पान बनाएको हेर्थे । बुवाको १२ वर्ष अघि निधन भयो । बुवाको निधनपछि उनले त्यही पान पसल चलाउने निधो गरे । अहिले पहिले जस्तो व्यापार भने छैन । व्यापार खास्सै नभए पनि पुर्ख्यौली पेशालाई निरन्तरता दिइरहेको उनी बताउँछन् । “पहिला व्यापार राम्रै हुन्थ्यो, अहिले खासै छैन, उनी भन्छन्, तर बुवाले गर्नु भएको व्यापारलाई निरन्तरता दिइरहेको छु ।”

उनी सादा, जर्दा र मिठा बनाउँछन् । केही वर्ष अघिसम्म दैनिक एक सयदेखि १५० खिल्ली पान बिक्री हुने गरेकोमा अहिले ३० देखि ४० खिल्ली मात्र बिक्री हुने गरेको उनी बताउँछन् । पानको व्यापार कम भएपछि अहिले कोल्ड स्टोर पनि चलाईरहेको उनी बताउँछन् । पसलमा सबै वर्गका ग्राहकहरु आउने गरेको उनी सुनाउँछन् । बढी मात्रामा मिठा पान मन पराउने ग्राहकहरु नै आउने गरेको समेत उनी बताउँछन् ।

उमेश गुप्ता पनि लामो समयदेखि नारायणगढमा पान पसल चलाईरहेका छन् । लायन्स चोकको उनको उमेश पान पसल छ । उनी २० बर्षदेखि उक्त पान पसल सञ्चालन गर्दै आइरहेका छन् ।

उनले पनि बुवाबाट नै पान बनाउन सिकेका हुन् । कुनै समय बुवाले गर्ने व्यवसायलाई अहिले उनले निरन्तरता दिइरहेका छन् । उनी तामुल, सादा, जर्दा र मिठा गरी ४ प्रकारका पान बिक्री गर्छन् । जुन १० देखि ५० रुपैयाँसम्म पर्न जान्छ । पानको व्यापार पहिले जस्तो छैन, तर पुर्ख्यौली पेशा नै भएकोले निरन्तरता दिइरहेको उनी बताउँछन् । “पढे लेखेको छैन, बुवाले पान पसल गर्नु भयो, मैले त्यही सिके । अहिले मैले पनि त्यही काम गरिरहेको छु, उनी भन्छन्, व्यापार पहिलेको जस्तो छैन, तर परिवार पाल्न पुगेकै छ ।”

भरतपुर महानगरपालिका वडा नम्बर १० सप्तगण्डकी चोकमा नारायण प्रसाद रिमालको पान पसल छ । उनको पान पसल सञ्चालनमा आएको ४१ बर्ष भयो । भारतबाट पान बनाउन सिकेर उनले यहाँ पसल सञ्चालन गरेका हुन् । सामान्यतया भारतीय नागरिकहरुले मात्र पान पसल सञ्चालन गर्ने गरेको पाईन्छ । नेपालीहरु पान बनाउन असहज मान्छन् । तर उनले भने काम सानो ठुलो हुँदैन भन्दै पान पसल खोलेका हुन् ।

उनको पसलमा पान खान सरकारी कर्मचारीदेखि बिभिन्न संघ संस्थाबाट ग्राहकहरु आउने गर्दछन् । पहिले राति १२ बजेसम्म ग्राहकहरु फोन गरेर पान खान आउँथे । तर अहिले पहिलेको जस्तो अवस्था छैन । “पान बनाउनु पनि आ-आफ्नै कला हुन्छ । मेरो पान पसलमा पहिला राति १२ बजे पनि फोन गरेर ग्राहक आउने गर्थे, उनी भन्छन्, तर अहिले त त्यस्तो व्यापार छैन ।”

सोचे जस्तो व्यापार नभए पनि यसैलाई निरन्तरता दिने उनी बताउँछन् । उनले आठ सय लगानी गरेर पान पसल खोलेका थिए । अहिले लगानीको आकार बढेको छ । पानसँगै उनले अहिले किराना पसल पनि खोलेका छन् । उनले पान बेचेरै दुई छोरालाई पढाएका छन् भने जग्गा जमिन पनि जोडेका छन् ।

नेपाली समाजमा पानको बिशेष महत्त्व छ । अझ तराई भेगमा यसलाई बिशेष रुपमा लिने गरिन्छ । भोज भतेर जस्ता कार्यमा पान अपरिहार्य जस्तै मानिन्छ । पानको महत्त्व यतीमा मात्रै सीमित भने छैन । पूजा पाठ तथा पितृ कार्यमा पनि पान अपरिहार्य मानिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु