पढ्ने लेख्ने उमेरमा जिम्मेवारीको भारी, घर छाडेर दश गाउँ पारी

चितवन – घडीमा रातको ८ बज्दै थियो । सडकमा केही सवारी साधन गन्तव्यतर्फ गुडिरहेका थिए । मानिसको चहलपहल पातलिदै थियो। दिनभर श्रम बेचेर बेलुकाको छाक टार्न घर फर्किनेहरु लामो लामो पाइला चाल्दै थिए । तर सुक नारायण भने अझै पनि ग्राहकको प्रतिक्षामा नै थिए। ​

पसिनै पसिना भएको अनुहार, धुलाम्य लुगा, पुरानो साईकल, साईकलको पछाडी बाँसको कप्टेरोमा कटन क्यान्डी । आयो आयो क्यान्डी आयो लिने हो ? भन्दै थिए उनी । अन्धकार भविष्यमा रुमलिएका सुक नारायण भरतपुरको चौबिसकोठीमा गाडीको प्रकाशको साहारामा ग्राहकको आश गरेर बसिरहेका थिए ।

रौतहट जगलशैया घर भएका १४ वर्षीय सुक नारायण पढ्ने, खेल्ने, रमाउने उमेरमा कमाउन वाध्य छन् । परिवार पाल्ने जिम्मेवारी काधमा बोकेर उनी सानै उमेरमा चितवन आए । पढ्न मन त उनलाई पनि नभएको होइन । तर कक्षा चारमा पढ्दा पढ्दै उनी शिक्षाको ज्योतीबाट बञ्चित हुन वाध्य भए ।

हातमा कलम, कापी बोक्नु पर्ने उमेरमा उनी काधमा जिम्मेवारी बोकेर हिडिरहेका छन् । दुई वर्षदेखि मन अमिलो बनाएर गुलियो क्यान्डी बेच्दैछन् उनी । घरको आर्थिक स्थिति कमजोर भएपछि उनी १० बर्षको उमेरमा नै रोजगारिका लागि भारत पुगे । भारतमा दुई वर्ष श्रम बेचेर घर फर्किए । अवस्था जस्ताको त्यस्तै । जिम्मेवारीको भारीले झनै थिच्न थालेपछि कमाउने सपना बोकेर उनी रित्तो हात चितवन आए ।

यहाँ पनि दु:खको पहाडले नै थिच्यो । आमाबुवा कृषि पेशामा छन् । तर दुई छाक टार्न मुस्किल । “म परिवारको काँन्छो छोरा हुँ । दुई दिदीको बिवाह भयो । दुई जना दाई इट्टा भट्टामा काम गर्नुहुन्छ । खासै राम्रो कमाई छैन, उनी भन्छन्, बुवा बिरामी हुनुहुन्छ, घर परिवार चलाउनै पर्‍यो, बाबा ममिलाई घर चलाउदा ॠण लागेको छ । साहुँको ॠण तिर्न नसकेपछि पढाई छोडेर कमाउन चितवन आए ।”

Forbes

उनको सपना प्रहरी बनेर देशको सेवा गर्ने थियो । तर घरको कमजोर आर्थिक अवस्थाका कारण उनी त्यो सपनालाई छोडेर धेरै पर आइसकेका छन् । भएको जग्गा बेचेर सानो टुक्रामा घर बनाएका छन् । घरलाई नै ॠणको भारी थिचेको छ । “घर बनाएको ॠण तिर्नु छ त्यसैले काम गर्न आएको हो, मलिन आवाजमा उनी भन्छन्, मैले कमाएको सबै पैसा घरमै पठाउछु, खर्च गर्दिन ।”

उनी हाकिमचोकमा साँहुको घरमा बस्छन् । बिहान खाना खाएर साईकलमा क्यान्डी राखेर बेच्न हिड्छ्न् । उनी दिनभर पुलचोक, नारायणगढ, लायन्सचोक, हाकिमचोक, चौबिसकोठी, बसपार्क, मालपोतचोक चाहर्छन् । अनी राति अबेर साहुँलाई पैसा बुझाउन घर पुग्छन् ।”

एक प्याकेट क्यान्डीको ३० रुपैयाँ पर्छ । दैनिक ५० देखी एक सय वटासम्म क्यान्डी बेच्छन् । साहुले मासिक ५ हजार तलब दिन्छन् । केही समयपछी  धेर थोर कमाउन सके गाँउ फर्किने उनको योजना छ ।

त्यस्तै बाराका १४ वर्षीय कृष्ण गिरी पनि त्यसरी नै क्यान्डी बेच्न हिड्छन् । उनले पनि घरको कमजोर आर्थिक अवस्थाले थिच्न थालेपछि पढाई छाडे। कलिलै उमेरमा अहिले काधमा जिम्मेवारी बोकेर दिन रात नभनी खट्छन् । उनी कक्षा पाँचमा पढ्दा पढ्दै पढाई चट्टै छाडेर रोजगारिको लागि चितवन आए ।

पढाईमा सिपालु उनी कक्षामा प्रथम हुन्थे । तर परिस्थितिले उनलाई पढाईमा अघि बढ्न दिएन । चितवन आउनु अघि उनी पनि भारत गए । कापीमा अक्षर कोर्ने उमेरमा उनी एउटा होटलको भाँडा माझ्ने काम गर्न वाध्य भए । अक्षर कोर्नु पर्ने हात भाँडा माँझ्दा माँझ्दै कुहिन थाले । अनी काम छोडेर घर आए । घर आएर के गर्ने, दुई छाक टार्नै धौ धौ । अनी हानिए चितवन ।

अहिले साईकलमा क्यान्डी लिएर बेच्न हिड्छ्न् । साहुँले हाकिमचोकस्थित घरमा बस्न खान दिएका छन् । दिनभर घाम पानी नभनी खटिन्छन् । दिनमा ५० देखी एक सय वटा सम्म क्यान्डी बेच्छन् । साँहुले मासिक ६ हजार तलब दिन्छन् । त्यही पैसा उनी घर पठाउँछन् ।

उनको सपना पनि नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने थियो । तर भाग्यले ठग्यो । आफु ठगिए पनि भाई बहिनीले त्यस्तो भोग्न नपरोस् भन्ने चाहन्छन् उनी । “म पढाईमा राम्रै थिए तर कमजोर आर्थिक अवस्थाले पढ्न पाईन, उनी भन्छ्न्, भाई बहिनीलाई भने त्यस्तो नहोस्, दु:ख गरेर भए पनि पढाउने इच्छा छ ।”

त्यस्तै रौतहट खेस्रिया घर भएका ११ वर्षीय राजु गिरी पनि रोजगारिका लागि चितवन आएको ५ महिना भयो । उनी कक्षा चारमा पढ्दा पढ्दै पढाई छाडेर रोजगारीको लागि चितवन आए । उनको बुवा आमा घर बनाउने काम गर्दछन् ।

उनी पनि साईकलमा क्यान्डी लिएर बेच्न हिड्छन् । उनी मुनालचोक साहुँको घरमा बस्ने खाने गर्दछन् । उनलाई साहुँले महिनाको ६ हजार दिन्छन् । उनले पनि कमाएको पैसा खर्च नगरी घर पठाउँछन् ।

रौतहट खेस्रियाकै १५ वर्षीय सन्दिप माझीले पनि चितवनमा क्यान्डी बेच्न हिड्न थालेको एक वर्ष भयो । उनको कथा भने केही फरक छ । आफु सँगैका साथीहरुले कमाउन थालेको देखेपछि उनी पनि कमाउन भनेर चितवन आए । अरु साथीहरु जस्तै उनी पनि साहुको घरमा नै बस्छन् । साथीहरुले कमाएको देखेपछि उनलाई पढ्न मन लागेन । कक्षा १ पढेर उनले पढाईलाई चट्टकै माया मारे । उनी अहिले महिनाको ७ हजार कमाउछन् । कमाएको पैसा घर पठाउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु