नारायणगढ – राजेन्द्र राम नारायणगढको सडक पेटीमा ग्राहकको प्रतिक्षामै दिन बिताउँछन्। पेटीमा बोरा ओछ्याएर सियो, धागो अगाडि राखेर उनी ग्राहक कुरिरहेका हुन्छन् । दिनभर बस्दा पनि जुत्ता सिलाउन मुस्किलले दुई चार जना आइपुग्छन् ।
भारत घर भएका ५५ वर्षीय राजेन्द्रको पेशा अहिले धरापमा परेको छ । ‘रातभरी करायो दक्षिणा हरायो’ भने झै उनलाई अहिले दिनभरमा दुई चार सय कमाउन पनि धौ धौ हुने गरेको छ । परिवारको पेट पाल्न पेटीमा झरेका उनलाई अहिले बिहान बेलुका छाक टार्नै मुस्किल हुने गरेको छ ।
२० वर्षदेखि नारायणगढमा जुत्ता चप्पल सिलाएरै पाँच जनाको परिवार पाल्दै आएका उनलाई अहिले भने चिन्ता लाग्दै गएको छ । पहिले पहिले जस्तो जुत्ता चप्पल सिलाउने ग्राहक आउनै छाड्दा रोजी रोटी कै चिन्ताले सताउन थालेको उनी गुनासो सुनाउँछन् ।
पहिले पहिले दैनिक १ हजारदेखि एक हजार दुई सयसम्म आम्दानी गर्ने उनी कोठा भाडा तिरेर घरमा पैसा पठाउँथे । उनकै कमाईले परिवार चलिरहेको थियो । तर अहिले दिनमा मुस्किलले तीन सय पनि आम्दानी नहुँदा घर पैसा पठाउने त परैको कुरा आँफैलाई कोठा भाडा तिर्न र खान नै धौ धौ हुने गरेको उनी बताउछन् ।
अहिले जुत्ता चप्पल सिलाएर लगाउने भन्दा नयाँ किनेर लगाउने जमात बढ्दा पेशा नै धरापमा परेको उनको भनाइ छ । “एक जोडी जुत्ता चप्पल सिलाएको ८० देखि १०० रुपैयाँसम्म लिने गर्छौं । मान्छेहरुले पहिला जस्तो जुत्ता चप्पल सिलाएर लगाउनै खोज्दैनन्, उनी भन्छन्, जमना फेसनको आयो, पुरानो नराम्रो कस्ले लाउन खोज्छन् र । सिलाउनु भन्दा नयाँ किन्न ठीक भन्छन् ।”
शरीरमा पहिले जस्तो शक्ति नभएको पनि उनी बताउँछन् । “जुत्ता चप्पल सिलाउँदा हात, ढाड, आँखा दुख्छ । पहिले जस्तो बल छैन, जेनतेन गर्न खोज्छु तर कमाई हुन्न, उनी भन्छन्, अरु व्यापार गरौ भने पढेको छैन्। न त लगानी नै छ । पुर्ख्यौली पेशा नै यही हो, जानेको सिप नै यही हो ।” उनी अघि थप्छन्, “यतिका समय दु:ख गरियो तर कमाएर एक रुपैयाँ पनि बचाउन सकिएन । हातमा सिप छ त्यती हो । अब यती कमाईले के गरी खानु खै, एक दुई वर्ष दु:ख गर्छु अनी घर फर्किन्छु र उतै केही गर्छु ।”
सर्लाहीका मुकेश थारुको पीडा पनि उस्तै छ । विगत २० बर्षदेखि नारायणगढमा जुत्ता चप्पल सिलाउदै आएका मुकेश अहिले पेशा नै धरापमा परेको भन्दै गुनासो गर्छन् । पहिले जुत्ता चप्पल सिलाएरै महिनाको ३० हजारसम्म आम्दानी गर्ने मुकेशलाई अहिले पाँच सात हजार कमाउन पनि मुस्किल पर्छ ।
दिनभर घाम पानी नभनी सडक पेटीमा बस्दा पनि मुस्किलले दुई चार जना मात्रै ग्राहक आउने गरेको उनी बताँछन् । जानेको सिपमा कमाई नहुँदा ६ जनाको परिवार पाल्नै हम्मे हम्मे हुने गरेको उनी सुनाउँछन् ।
एक त लामो समय बन्दा बन्दीले काम नै ठप्प भयो । त्यही माथि बल्ल बल्ल बजार खुले पनि ग्राहक नपाउँदा कसरी छाक टार्ने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । “महिनौंसम्म त काम बन्द नै भयो । बल्ल बल्ल बजार खुल्दा काम राम्रै हुन्छ कि भन्ने आश थियो, उनी भन्छन्, तर बजारमा चहल पहल बढे पनि हामीले ग्राहक नै पाएका छैनौं । एक दुई जना आए पनि श्रम अनुसारको ज्याला दिन आनाकानी गर्छन् ।”
उनी अघि थप्छन्, “यहाँ बस्दा बेला बेलामा नगर प्रहरीले हटाउँछन् । कहिले काही सामान नै उठाइदिन्छन् । कसैले फेरि पसलको अगाडि बस्न दिदैँनन् । हामीलाई त साह्रै समस्या परेको छ ।”
नारायणगढमा २५ वर्षदेखि जुत्ता चप्पल सिलाउदै आएका रौतहट बैदीमाइ घर भएका ६० वर्षीय नखिन्दार राम पनि यो पेशामा आम्दानी नै हुन छाडेको बताउँछन् । अहिले ग्राहक पाउनै मुस्किल, पाए पनि मेहेनत अनुसार आम्दानी नहुँदा परिवार पाल्नै समस्या भइरहेको उनको गुनासो छ । अहिले ग्राहकहरु जुत्ता चप्पल सिलाउनु भन्दा नयाँ किनेर लगाउन नै उचित ठन्ने हुँदा यो पेशा नै धरापमा परेको उनी बताउँछन् ।
उनले यही पेशाबाट ६ जनाको परिवार पाल्दै आएका थिए । तर अहिले ग्राहक नै पाउन छोडेकोले यो पेशाबाट नै विस्थापित हुने अवस्था आएको उनको भनाइ छ । कतीपयको हेपाहा प्रवृतिले अपमानित समेत हुनु पर्ने भन्दै उनी दु:ख व्यक्त गर्छन् । “अहिले न पैसा छ न त इज्जत नै, उनी भन्छन्, कतीपयले जुत्ता सिलाउने मान्छेले ठुला कुरा गर्ने भन्दै अपमान गर्दछन् । सानो काम भनेर धेरैले हेप्छन् । यो देख्दा निकै दुःख लाग्छ ।”
नारायणगढमा नै १५ वर्षदेखि जुत्ता चप्पल सिलाउदै आएका ५५ वर्षीय सिताराम चौधरी अहिले यो पेशाबाट नै विस्थापित हुने अवस्था आएको बताउँछन् । पहिले पहिले दिनमै एक हजार पाँच सयसम्म आम्दानी गर्ने चौधरी अहिले दिनमा अधिकतम तीन सयमा नै चित्त बुझाउनु परिरहेको बताँछन् ।
मानिसहरु सम्पन्न हुँदै जाँदा जुत्ता चप्पल सिलाउनेको संख्या घट्दै गएको उनी बताउँछन् । यही कारण अहिले यो पेशाबाट धेरै जना विस्थापित भइसकेको र ति मध्ये केही बेरोजगार नै बस्नु परेको उनी बताउँछन् । श्रमको सम्मान नहुँदा थप पीडा भोग्नु परेको उनको गुनासो छ ।


