चितवनमा अनलाइन कक्षा : पहुँच र प्रभावकारिता दुबै कम

चितवन – कोभिडका कारण लामो समयदेखि चितवनका शैक्षिक संस्था बन्द छन् । गत वर्ष निषेधाज्ञा खुलेसँगै भौतिक रुपमा नै सञ्चालनमा आएका विद्यालयहरु दोश्रो लहरको कोभिडका कारण पुन: बन्द भए ।

कोभिड महामारीका कारण अझै कति समय बिद्यालय बन्द हुने हो भन्ने अनिश्चित छ । कोभिडका कारण विद्यालयहरुले अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । इन्टरनेटको पहुँच भएका विद्यार्थीहरु अनलाइन कक्षामा सामेल छन् । तर इन्टेरनेट र आवश्यक उपकरणका पहुँच बाहिरका विद्यार्थीहरु भने डिजिटल कक्षाबाट बञ्चित छन् ।

तर अनलाइन कक्षाको पहुँचमा रहेका विद्यार्थी तथा अभिभावकहरुबाट पनि गुनासो आउने गरेका छन् । अनलाइन कक्षामा बिभिन्न समस्या देखिएको भन्दै विद्यार्थी तथा अभिभावकहरुले गुनासो राखिरहेका छन् । इन्टरनेट, मोबाइल, ल्यापटप जस्ता प्राविधिक पक्षले अनलाइन कक्षा खर्चिलो हुने तर प्रभावकारी भने कमै हुने गुनासो बढ्दै गएको पाईन्छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा अझै बढी समस्या देखिने गरेको छ ।

कक्षा ८ मा अध्ययनरत भरतपुर महानरपालिका वडा नम्बर ११ का उत्सव अधिकारी प्राविधिक समस्याका कारण अनलाइन कक्षा प्रभावकारी नभएको बताउँछन् । इन्टरनेट, विद्युतलगायतका समस्याले अनलाइन कक्षामा असर गरिरहेको उनको भनाई छ । “पढ्न बस्यो कहिले बत्ती जान्छ, कहिले इन्टरनेट जान्छ, कहिले मोबाईल ह्याङ हुन्छ, कहिले आवाज आउँदैन । यस्ता समस्याले असर गरिरहेको छ । कहिले काही कक्षामा पुरै समय सहभागी हुन सकिदैन ।”बत्ती र इन्टरनेटमा देखिने प्राविधिक कठिनाईका कारण नबुझेका प्रश्न र जिज्ञासा राख्न समेत समस्या हुने गरेको उनको गुनासो छ ।

भरतपुर ३ की संगिता अधिकारी कक्षा १० मा अध्ययनरत छिन् । उनी पनि अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो गर्छिन् । अनलाइन कक्षामा विभिन्न किसिमका अवरोधहरु आउने गरेको उनी बताउँछिन् । पटक पटक बत्ती जाँदा महत्त्वपूर्ण बिषय नै छुट्ने गरेको उनको गुनासो छ । यस्तै कहिले काही आवाज स्पष्ट नआउने र शिक्षकहरुसँग छलफल कम हुँदा पढाएका बिषय बुझ्न नै समस्या हुने गरेको उनी बताउँछिन् ।

Forbes

“अनलाइन शिक्षा काम चलाउ मात्र भएको छ । ४० मिनेटको समयमा शिक्षकले पाठ्यक्रम अगाडी मात्र बढाउने र विद्यार्थीले नबुझेका बिषयमा सोध्ने मौका कमै पाउने भएकोले त्यती प्रभावकारी भएको जस्तो मलाई लाग्दैन, उनी भन्छिन्, एकहोरो पढिराख्दा नयाँ कुरा सिक्न पाईँदैन।” अनलाइन शिक्षामा प्राविधिक गढबढ बढी हुने भएकाले यसलाई व्यवस्थित र गुणस्तरीय बनाउनुपर्नेमा उनको जोड छ ।

 कक्षा १ मा अध्ययनरत भरतपुरकी युनिशा दाहालकी अभिभावक सिता दाहाल तल्लो कक्षाका बालबालिकाहरुका लागि अनलाइन कक्षा प्रभावकारी नै नभएको बताउँछिन् । “तल्लो कक्षाका स-साना बालबालिकाहरुलाई हात समाएर सिकाउन पर्छ, उनी भन्छिन्, तर अनलाइन कक्षामा पढाउँदा न शिक्षकले बुझाउन सक्छन् न त विद्यार्थीले नै बुझ्छन् ।”

नारायणी नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत भरतपुर ११ का सुसान्त अधिकारीकी अभिभावक मनिषा अधिकारी अनलाइन कक्षा बढी खर्चिलो भए पनि प्रभावकारी भने नभएको बताउँछिन् । “पहिले भौतिक रुपमामा नै कक्षा सञ्चालन हुँदा शुल्क मात्रै तिरे पुग्थ्यो । अहिले मासिक शुल्कसँगै मोबाइल, ल्यापटप इन्टरनेटमा पनि त्यती कै खर्च हुने गरेको छ । तर पनि राम्रोसँग छोराछोरीले पढ्दैनन् । पढ्न छ भनेर कोठा भित्र बस्छन् पढेका हुन् कि नपढेका हुन मैले त बुझ्नै सक्दिन । के पढेउ भनेर सोध्दा अलमल्ल पर्छन् ।” अनलाइन कक्षामा विद्यार्थीहरुले पनि त्यती मेहेनत नगर्ने गरेको उनी बताउँछिन् ।

नेपाल प्रविधिसँग जोडिए पनि सबै वर्गका विद्यार्थीमा अनलाइन कक्षाको पहुँच नपुगेको शिक्षाविद रमाकान्त सापकोटा बताउँछन् । विभिन्न प्राविधिक समस्याका कारण पनि अनलाइन कक्षा अपेक्षित रुपमा प्रभावकारी नदेखिएको उनको तर्क छ ।

विद्यार्थीको भविष्यसँग जोडिएको शिक्षा जस्तो बिषयलाई प्रभावकारी बनाउन स्थानीय सरकार तथा सरोकारवालाहरुले बिशेष जोड दिनुपर्ने उनी बताउँछन् । स्थानीय सरकारले इन्टरनेट उपलब्ध गराउने, विद्यालयले विपन्न वर्गका विद्यार्थीलाई पोषाक लगायत बिभिन्न शिर्षकमा आउने छात्रवृतीको रकमबाट मोबाइल र इन्टरनेट उपलब्ध गराउनुपर्ने उनको तर्क छ ।

महामारीमारीको विकल्पमा सिकाईको निरन्तरताको लागि अनलाइन कक्षा सुरु गरिए पनि सबै विद्यार्थीको पहुँच नहुँदा प्रभावकारिता कम देखिएको शिक्षा बिकास समन्वय एकाई चितवनका प्रमुख भुमिलाल शर्मा सुवेदी बताउँछन् । अनलाइन कक्षाको पहुँचभन्दा बाहिर रहेका ग्रामीण भेगका विद्यार्थीहरुका लागि रेडियोबाट कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

नारायणी नमुना माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षक विशाल अधिकारी अनलाइन शिक्षा वर्गान्तर भएको बताउँछन् । सम्पन्न वर्गका विद्यार्थीहरुको पहुँच यसमा सजिलै भए पनि विपन्न वर्गका विद्यार्थीहरु भने अझै पनि यसको पहुँचमा पुग्न नसकेको उनी बताउँछन् । कतीपय अवस्थामा एउटै परिवारमा २-३ जना विद्यार्थी हुँदा आवश्यक प्राविधिक स्रोत जुटाउनै समस्या हुने गरेको उनको भनाइ छ ।

यस्तै कतीपय विद्यार्थीहरुले प्रविधिको दुरुययोग गर्ने गरेको उनी बताँछन् । विद्यार्थीहरु सामाजिक सञ्जालमा व्यस्त हुने, गृहकार्य नगर्ने, कक्षामा उपस्थित नहुने, भिडियो बन्द गरेर अन्यत्रै ध्यान दिने, विभिन्न बाहना बनाएर पढ्न नखोज्ने जस्ता क्रियाकलाप गर्ने गरेको उनी बताउँछन् । यस्तै कारणले अनलाइन कक्षाको प्रभावकारिता माथि नै प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

भर्चुअल कक्षामा भौतिक रुपमा जस्तो विद्यार्थीलाई निगरानीमा राख्न नसकिने र विद्यार्थीले पनि पढ्न अल्छि गर्दा समस्या हुने गरेको उनी बताँछन् । पढ्न चाहने विद्यार्थीका लागि अनलाइन कक्षा प्रभावकारी हुने उनको तर्क छ ।

शरदपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक भोला सापकोटा सबै विद्यार्थीसँग इन्टरनेट मोबाइल जस्ता आवश्यक पूर्वाधारको पहुँच नहुँदा अनलाइन कक्षाको प्रभावकारिता कम देखिएको बताउँछन् । कमजोर आर्थिक अवस्थाकै कारण केही विद्यार्थीहरु अनलाइन कक्षाबाट बञ्चित हुनु परेको उनको भनाइ छ । शरदपुर माविमा ७० प्रतिशत विद्यार्थी अनलाइन कक्षाबाट बञ्चित भएको उनी बताउँछन् ।

चितवनमा १७६ निजी तथा ३४९ सामुदायिक विद्यालयहरु छन् । निजी तथा सामुदायिक विद्यालय दुबैमा गरी १ लाख ३४ हजार ८०२ जना विद्यार्थी छन् । चितवनको सुगम भेग मानिने भरतपुर महानगरपालिकामा नै ४० प्रतिशत विद्यार्थी मात्र अनलाइन कक्षाको पँहुचमा छन् । अन्य पालिकाको भने यकिन तथ्याङ्क नै छैन । महानगर भित्रकै ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षाबाट बञ्चित हुनुले पनि यसको प्रभावकारिता माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु