चितवन – नेपालमा बुधवारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभरम्भ गरे ।
पहिलो चरणको खोप अभियान शुरु भएको २ दिनमा देशभर ३७ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा ३७ हजार ८१६ जना व्यक्तीहरुले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा कोरोनाको खोप दिइएको छ । आजसम्म बागमतीमा १४ हजार १५५ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तै प्रदेश १ मा ५ हजार १०२ जनाले खोप लगाएका छन् भने प्रदेश २ मा २ हजार ९००, गण्डकी प्रदेशमा ६ हजार ६९६, लुम्बिनीमा ३ हजार ३६, कर्णालीमा २ हजार ४२८ र सुदुरपश्चिममा ३ हजार ४९९ जनाले कोरोना खोप लगाएका छन् ।
अहिलेसम्म खोप लगाएका कुनै पनि व्यक्तीमा कुनै असर नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ ।
पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई लगाइने छ । पहिलो चरणमा प्रत्यक्ष उपचार सेवामा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स तथा शव बाहनका चालक र सरसफाईकर्मीहरुलाई खोप लगाइने छ ।


चितवनमा ६०६ जनाले लगाए खोप
चितवनमा दुई दिनको अवधिमा ६ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अभियानको पहिलो दिन बुधवार चितवनमा २ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । आज दोस्रो दिन ३ सय २७ जनाले खोप लगाएका हुन् ।
जिल्लामा तीन वटा अस्पतालमा कोरोनाको खोप अभियान चलिरहेको छ । भरतपुरको भरतपुर अस्पताल, पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पताल र माडीको बघौडा अस्पतालमा कोरोनाको खोप अभियान चलाइएको छ । चितवनमा पहिलो चरणमा ४ हजार एक सय डोज खोप प्राप्त भएको छ ।