काठमाण्डाै, बैशाख २४ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर र डरपोक सभामुखको भनेका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई हटाउन गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर हटाउन गर्न नसकेको सभापति देउवाको दाबी रहेको छ ।
‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख कहिल्यै देखेको थिईन् – देउवाले भने ।’ सभापति देउवाले आफ्नो पार्टीको मागअनुसार गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गरे । ‘धेरै सभामुख भए,’ बुधबार काठमाण्डौमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले भने ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको त्याे गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराएका छन् । कम्युनिष्ट शासन आएकाले राष्ट्रपति बेलायती महारानीको शैलीमा प्रस्तुत भएको सभापति देउवाको आरोप छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई त्याे शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।


