विद्यार्थी बेपत्ता घटनाप्रति अखिल (क्रान्तिकारी) चितवनको आपत्ति, विद्यालय प्रशासनको जिम्मेवारीमाथि प्रश्न

एटुजेड समाचार

चितवन – चितवनको भरतपुर महानगरपालिका–६, चोकबजारस्थित पारिजात सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कुलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी अन्कित गुरुङ शैक्षिक भ्रमणका क्रममा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको घटनाप्रति अखिल (क्रान्तिकारी) चितवनले गम्भीर आपत्ति जनाएको छ।

संगठनका अध्यक्ष सुशील कार्की ‘अब्दुल’ले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। शैक्षिक भ्रमणका क्रममा बस रोकेर पिसाब फेर्न गएका विद्यार्थी सडकछेउको डम्पिङ क्षेत्रबाट चिप्लिएर नदीमा खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको भन्दै उनले विद्यालय प्रशासनको सुरक्षा व्यवस्थापन र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएका छन्।

विद्यार्थीको जीवनभन्दा ठूलो कुनै भ्रमण, मनोरञ्जन वा विद्यालयको व्यावसायिक स्वार्थ हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा अभिभावकबाट शुल्क असुल्ने तर विद्यार्थीको सुरक्षामा आवश्यक संवेदनशीलता नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने जनाइएको छ।

अखिल (क्रान्तिकारी) चितवनले बेपत्ता विद्यार्थीको खोजी तथा उद्धार कार्य तीव्र बनाउन, घटनाको निष्पक्ष छानबिन गरी विद्यालय प्रशासन तथा भ्रमण संयोजकको सम्भावित लापरबाही र जिम्मेवारी निर्धारण गर्न माग गरेको छ।

त्यस्तै, शैक्षिक भ्रमणका क्रममा विद्यार्थी सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य लागू गर्न, सुरक्षा सुनिश्चित नगरी सञ्चालन गरिने भ्रमण रोक्न तथा दोषी देखिएका व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गर्न संगठनले माग गरेको छ।

‘शैक्षिक भ्रमण विद्यार्थीको ज्ञान र अनुभव अभिवृद्धिका लागि हो, उनीहरूको जीवन जोखिममा पार्नका लागि होइन। विद्यार्थीको सुरक्षा विद्यालयको पहिलो जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ।

संगठनले ‘विद्यार्थीको जीवनसँग खेलबाड बन्द गर, असुरक्षित शैक्षिक भ्रमण बन्द गर’ भन्दै अन्कित गुरुङको शीघ्र सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु