सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
आइतबार दिउँसो अन्दाजी १ बजेर १५ मिनेटको समयमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।
घाइतेमध्ये बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराईको अवस्था गम्भीर रहेको छ भने, उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई, छोरा अन्दाजी ८ वर्षीय आयन्स भट्टराई, अन्दाजी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका छोरा अन्दाजी १३ वर्षीय अतर्व भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


