नारायणी महोत्सवमा आज शनिबार ओहिरिए दर्शक

एटुजेड समाचार

चितवन – चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा आज शनिबार दर्शकहरुको निकै घुईंचो लागेको छ ।

आज महोत्सवको दशौं दिन शनिबार महोत्सवमा उल्लासमय सहभागिता देखिएको हो । पिरामिड गेट, स्टल, बाल उद्यानसहित विभिन्न खेलहरुको परिसर र स्टेज परिसर सबैतिर दिनभर उत्तिकै भिड देख्न सकिन्थ्यो ।

आज सार्वजनिक बिदा भएका कारण पनि परिवारसहित महोत्सव आउनेहरुको संख्या बाक्लो थियो । नारायणी महोत्सवमा आउने दर्शकहरुका कारण नारायणगढ बजारमा पनि चहलपहल देखिएको छ ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि दोस्रो नारायणी महोत्सव २०८३ सञ्चालन भइरहेको हो । महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय संस्कृतीको जगर्नेमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सिमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रुपमा लिएको जनाएको छ ।

महोत्सवमा दिनदिनै राष्ट्रिय कलाकार, स्थानीय कलाकार, नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति र आदिवासी जनजातीको साँस्कृतिक प्रस्तुति भइरहेका छन् ।महोत्सवमा विभिन्न किसिमका स्टलहरुका साथै बाल उद्यान, जिरो ग्र्याभिटि राइड, ३६० डिग्रि राइड र पिरामिड गेटले आगन्तुकको ध्यान तानेको छ ।

महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनैकुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् ।

बाढीका कारण कुरुप र विजोक अवस्थामा पुगेको नारायणी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सुरु गरेको हो । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु