गाजा = गाजाको एक स्वास्थ्य क्लिनिकमा इजरायलले गरेको आक्रमणमा अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था ‘डक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ) का दुई कर्मचारीको मृत्यु भएको छ। दुवै कर्मचारी क्लिनिकका सुरक्षागार्ड (वाचम्यान) रहेको संस्थाले जनाएको छ।
एमएसएफले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै आफ्ना दुई सहकर्मीको हत्याप्रति दुःख र आक्रोश व्यक्त गरेको छ । संस्थाका अनुसार क्लिनिकमा प्रत्यक्ष निशाना बनाएर आक्रमण गरिएको थियो।
एमएसएफले आक्रमण भएको क्लिनिकमा आफ्नो संस्थाको लोगो स्पष्ट रूपमा राखिएको र उक्त स्थानबारे इजरायली सेनालाई जानकारी गराइएको तथा सेना उक्त स्थानबारे जानकार रहेको जनाएको छ। संस्थाले घटनामा संलग्नलाई जवाफदेही बनाउन माग गरेको छ।
आक्रमणपछि इजरायली सेनाले मारिएका दुवै कर्मचारी हमासका सदस्य रहेको दाबी गरेको छ। तर, उक्त दाबी पुष्टि हुने प्रमाण सार्वजनिक गरेको छैन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले घटनालाई ‘आक्रोशजनक र अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । अरूको जीवन बचाउन आफ्नो ज्यान जोखिममा राख्ने मानवीय सहायता कर्मीहरूको सुरक्षा गर्नुपर्ने, उनीहरूमाथि आक्रमण गर्न नहुने उनले बताएका छन्।
युरो–मेड मानव अधिकार अनुगमन संस्थाले पनि एमएसएफको स्पष्ट चिह्न भएको क्लिनिकमाथिको आक्रमणको निन्दा गर्दै मानवीय सहायता कर्मी र संरचनालाई व्यवस्थित रूपमा निशाना बनाइएको आरोप लगाएको छ।
गाजामा सन् २०२३ अक्टोबरदेखि सुरु भएको इजरायली युद्धमा १ हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मी मारिएको समाचारमा उल्लेख छ । यसै वर्ष जनवरीमा एमएसएफले इजरायलले आफ्नो सहायता सामग्री रोक्नुका साथै अन्तर्राष्ट्रिय कर्मचारीलाई गाजामा प्रवेश गर्न नदिएको आरोप लगाएको थियो।
यसै साता गाजामा इजरायली आक्रमणमा संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी सहायता निकाय (यूएनआरडब्ल्यूए) का कर्मचारी अदेल अल–हेलु पनि मारिएका थिए। उनी जबालिया शरणार्थी शिविरका बासिन्दालाई पानी वितरण गरिरहेका बेला आक्रमणमा परेको बताइएको छ।
सन् २०२५ अक्टोबरमा लागू भएको युद्धविरामका बाबजुद गाजामा इजरायली आक्रमण जारी रहेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा १ हजार ७०५ जनाको मृत्यु भएको छ । युद्ध सुरु भएयता कुल मृतकको संख्या कम्तीमा ७४ हजार ७७२ पुगेको मन्त्रालयले जनाएको छ।


