काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो ।
उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ४ दिनको समय दिएको हो । सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको जानकारी दिएको थियो ।
मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ ।
सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ । उक्त रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ ।
प्रहरीले २०८३ मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।


