विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मताधिकार दिन महरको माग

एटुजेड समाचार

धनगढी – नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताएका हुन्।

उनले भने, ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन्। उनीहरूले आफ्नो श्रम, सीप र पुँजीमार्फत देशको अर्थतन्त्र धानिरहेका छन्। सामाजिक र आर्थिक अधिकारको कुरा गर्दै आएका हामीले अब मतदानको अधिकार पनि कार्यान्वयन गर्नुपर्छ।’

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यसले नेपालको विदेशी मुद्रा सञ्चिति, उपभोग, रोजगारी र समग्र आर्थिक स्थायित्वमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

आर्थिक योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि असमानता भएको महरले उल्लेख गरे। विदेशस्थित नेपाली दूतावासमार्फत मतदान केन्द्र स्थापना, सुरक्षित वैकल्पिक मतदान प्रणाली, मतदाता दर्ता तथा श्रमिकको सुरक्षा, कानुनी सहायता र सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे। महरले भने, ‘देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीको मत देशको भविष्य निर्माणमा पनि प्रतिबिम्बित हुनुपर्छ। आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयन गर्नु लोकतन्त्र र राष्ट्रिय अर्थतन्त्रप्रतिको सम्मान हो।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु