देशभर चिसो बढ्दो, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा झर्‍यो

एटुजेड समाचार

दिनप्रतिदिन देशभर चिसो बढ्ने क्रमसँगै तापक्रम घट्दै गएको छ। यसै क्रममा आज (मंगलबार) बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

आइतबार ८.३ डिग्री र सोमबार ८ डिग्री सेल्सियसमा झरेको उपत्यकाको न्यूनतम तापक्रम आज अझै तल झरेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

यद्यपि, यो सुरुवाती मापन मात्रै हो। आधिकारिक तथा वास्तविक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यसबेलासम्म उपत्यकाको न्यूनतम तापक्रम थप तल झर्ने सम्भावना रहन्छ, यद्यपि कहिलेकाहीँ प्रारम्भिक मापनकै विन्दुमा पनि स्थिर रहन सक्छ।

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरूको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। जसअनुसार बिहान ८:४५ बजे न्यूनतम (रातिदेखि बिहानसम्मको) र साँझ ५:४५ बजे अधिकतम (दिनभरको) तापक्रमको अवस्था रेकर्ड गरिन्छ। यसअघि सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियससम्म तल झरिसकेको महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु