काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज मध्याह्न १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ जना सहभागी हुनेछन्। त्यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा विशेष स्वागतको तयारी गरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका मुख्य सडक तथा विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा फहराइएको छ।
नेपाल र भारतका झन्डाले सजिएका दिल्लीका सडकले प्रधानमन्त्री शाहको भ्रमणलाई भारतले विशेष महत्त्व दिएको संकेत गरेको छ।


