काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।
प्रधानमन्त्री पदको कार्यभार सम्हालेयता उनको यो नै पहिलो औपचारिक विदेश तथा छिमेकी मुलुकको राजकीय भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि सोमबार उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले भोलि सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छासहित श्रद्धासुमन अर्पण गर्नेछन्। उता, आजै नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न भइसकेका परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन गर्ने र केही नयाँ महत्त्वपूर्ण परियोजनाहरूको शिलान्यास गर्ने कार्यसूची छ।
दुवै देशका शीर्ष नेतृत्वहरूबीच द्विपक्षीय व्यापार, पारवहन सहजीकरण, वैदेशिक लगानी, ऊर्जा व्यापार, अन्तरदेशीय सम्पर्क सञ्जाल तथा ठूला पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्यलाई थप अभिवृद्धि गर्ने विषयमा गहन छलफल हुनेछ।
वार्ताकै क्रममा आपसी सहकार्यका विभिन्न क्षेत्रहरू-शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासजस्ता महत्त्वपूर्ण विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदानसमेत गरिनेछन्। यी समझदारीबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रहरूमा आपसी सहयोग र साझेदारी अझ फराकिलो एवं सुदृढ हुने विश्वास लिइएको छ।
भ्रमणको अर्को महत्त्वपूर्ण आकर्षणका रूपमा नेपाल-भारत बिजनेस फोरमको विशेष छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । नेपालमा भारतीय लगानी भित्र्याउन र आकर्षित गर्ने मुख्य उद्देश्यले आयोजना हुने उक्त फोरममा भारतीय व्यवसायी समुदायलाई विशेष सम्बोधन गरिनेछ।
सो अवसरमा भारतीय लगानीकर्ता तथा व्यवसायी समुदायका चासो, जिज्ञासा र सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका पछिल्ला नीतिगत दृष्टिकोण एवं सुधारका प्रयासहरू प्रस्तुत गरिनेछ। यस कार्यक्रमले नेपाली र भारतीय निजी क्षेत्र तथा व्यवसायीहरूबीच व्यावसायिक सहकार्य विस्तार गर्ने एक बलियो सेतुका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमण दलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका प्रतिष्ठित व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।
प्रधानमन्त्री शाहले भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।


