एनपीएल–३ को च्याम्पियन बन्यो सुदूरपश्चिम रोयल्स

एटुजेड समाचार

काठमाडौं । लगातार दुई संस्करणसम्म उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा आखिरकार नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि चुम्न सफल भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिमले पहिलोपटक च्याम्पियन बन्ने ऐतिहासिक गौरव हासिल गरेको हो।

यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै ट्रफी उचाल्नबाट चुकेको सुदूरपश्चिमले यसपटक गत वर्षको हारको बदला समेत लिएको छ।

खेलमा टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रनमा सीमित पारेको थियो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल र दिलिप नाथले समान ३०-३० रन बनाए भने निरोशन डिक्वेल्लाले २८ र डी आर्की शर्टले २१ रन जोडे। सुदूरपश्चिमका लागि बलर स्कट कुगेलेइनले २ विकेट लिए भने थरिन्दु रथ्नायके, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

जवाफमा १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले सनसनीपूर्ण ब्याटिङ प्रदर्शन गर्‍यो। ओपनर जर्ज मुन्सीले विस्फोटक शतकीय पारी खेल्दै मात्र ५४ बलमा १२५ रनको नटआउट अविजित इनिंग खेले। उनले आफ्नो इनिंगमा १२ छक्का र ८ चौका प्रहार गरे। अर्का ब्याटर विनोद भण्डारीले पनि ३० रनको योगदान दिए।

सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै लक्ष्य भेट्टाउँदै १० विकेटको सानदार जित निकाल्यो र एनपीएलको तेस्रो संस्करणको ट्रफी आफ्नो नाममा पार्न सफल भयो। यो जितसँगै च्याम्पियन बनेको सुदूरपश्चिमले नगद १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु