काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि भिडन्तमा आज (शनिबार) साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस महाभिडन्तमा लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ भने लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिम उपविजेताको ट्याग मेटाउँदै पहिलो उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रँदैछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सञ्चालित फ्रेन्चाइज क्रिकेटको यो सर्वाधिक चर्चित प्रतियोगिताको फाइनलअघि शुक्रबार आयोजित प्रिम्याच पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने उच्च आत्मविश्वास व्यक्त गरे।
लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र रणनीतिक अभ्यासपछि आफ्नो टोली फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताए। पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको लुम्बिनीले पाएको तीन दिनको विश्राममध्ये दुई दिन शारीरिक आराम र एक दिन अभ्यासमा बिताएको उनले जानकारी दिए।
लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र उत्कृष्ट जितको लय कायम राखेको भए पनि फाइनलको दबाब फरक हुने पौडेलको बुझाइ छ। “क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल हो, त्यसैले विगतको लयले मात्र नतिजा दिँदैन; उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन नै गर्नुपर्छ,” उनले भने।
एनपीएलको इतिहासमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेलमा लगातार जित निकालेको भए पनि प्रतिद्वन्द्वीलाई कमजोर आँक्न नहुने पौडेलले स्पष्ट पारे। लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मिहिनेत र सफलताका रूपमा लिएको उनले बताए।
यता, पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको सुदूरपश्चिम रोयल्स उच्च मनोबलमा छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै यसपटक उपाधि जित्ने मुख्य लक्ष्य रहेको बताए। उनले लुम्बिनीको सन्तुलित र बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गरे।
फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ आक्रमणलाई निस्तेज पार्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिए । जारी प्रतियोगिताभर विभिन्न कारणले विदेशी खेलाडी आउने र जाने क्रम चलिरहँदा टोलीको सन्तुलन र संयोजनमा केही परिवर्तन गर्नुपरेको उनले स्वीकारे।
विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने बाध्यताले ब्याटिङ क्रम व्यवस्थापनमा केही चुनौती थपिए पनि फाइनलमा नेपाली तथा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त देखिए ।
एनपीएलको पहिलो र दोस्रो दुवै संस्करणको फाइनलमा पुगेर पनि उपविजेतामै सीमित हुनुपरेको पीडा भुलाउन सुदूरपश्चिम आतुर छ। उता, घरेलु क्रिकेटका दुई प्रभावशाली कप्तानहरू रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबीचको रणनीतिक भिडन्तले आजको फाइनल थप रोमाञ्चक बन्ने निश्चित छ्। दुवै टोलीमा राष्ट्रिय टोलीका स्टार खेलाडीहरूको बाहुल्यता रहेकाले कीर्तिपुर मैदानमा दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।


