काठमाडौँ : हेटौँडा-भैँसे-भीमफेदी–कुलेखानी सडक खण्ड हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुवाहक सवारी साधनलाई शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा शुक्रबार हरिबोधिनी एकादशी मेला जात्रा लाग्ने भएकाले मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनको अत्यधिक भिडभाड हुने र उक्त स्थानको बाटो साँघुरो तथा भिरालो रहेकाले सवारी आवागमनमा जटिलता आउन सक्ने प्रशासनको भनाइ छ।
यात्रुवाहक सवारी साधनको सहज, सुरक्षित र व्यवस्थित आवागमनका लागि मङ्सिर ४ गतेका दिन सो सडक खण्डको सट्टा वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गर्न-गराउन सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा अनुरोध गरिएको छ।


