नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने यो महत्त्वपूर्ण भिडन्त अपराह्न ४:३० बजे सुरु हुनेछ।
लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा रहेको छ। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले आगामी शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग फाइनल खेल्ने तालिका तय भएको छ।
लिग चरणका ७ खेलमध्ये ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमान्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। प्रतियोगिताको सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो।
अर्कोतर्फ, ७ खेलमा ३ जित, ३ हार र १ खेलमा वर्षाका कारण अंक बाँड्दै ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटर खेल्न लागेको हो। चितवन आज काठमान्डुलाई पराजित गर्दै आफ्नो उपाधि यात्रा जीवितै राख्ने दाउमा छ।
आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका थिए। जसमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी सिधै फाइनलमा पुगिसकेको छ। लिग चरणबाट ६-६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४-४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।


