छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्। काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्। सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि उनले वीरगन्जका अन्य छठघाटको समेत भ्रमण गरी व्रतालु तथा श्रद्धालुसँग भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन्। कांग्रेस वीरगन्ज महानगर कार्यसमितिका सचिव भाजु राउत कुर्मीले सार्वजनिक गरेको कार्यतालिकामा थापा सोमबार बिहान ४ः३० बजे घडिअर्वा छठघाट पुग्नेछन्।

त्यसपछि बिहान ५ बजे नगवा प्रहरी चौकीनजिकको छठघाट र ५ः४५ बजे छपकैयाँ छठघाट पुग्ने कार्यक्रम छ। छठघाटको भ्रमणपछि उनले स्थानीय चिया पसलमा चिया पिउँदै स्थानीयसँग अनौपचारिक संवाद तथा अन्तरक्रिया गर्नेछन्। त्यसैगरी, बिहान ९ देखि १० बजेसम्म पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा आगन्तुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बिहान १०ः३० देखि ११ बजेसम्म वीरगन्ज-१४ स्थित पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा थापा सहभागी हुनेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु