काठमाडौं – खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको हो ।
रुपन्देही तिलोत्तमा नगरपालिका–२ मा सञ्चालित आदीखोले मासु पसलका सञ्चालक ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
घटनापछि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले व्यवसायी रानाभाटलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । व्यवसायी रानाभाटले आफ्नो गल्ती स्वीकार गर्दै जरिवाना तिर्ने र आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् ।


