जाडो मौसम सुरु भएसँगै धेरै मानिसमा छाला सुख्खा हुने, चिलाउने, फुट्ने तथा ओठ फाट्ने समस्या देखिने गर्छ। चिसो हावा र वातावरणमा आद्रता कम हुँदा छालाको प्राकृतिक ओसिलोपन घट्न सक्छ। यस्तो समस्याबाट बच्न आफ्नो छालाको विशेष हेरचाह गर्नु आवश्यक छ।
जाडोमा छालालाई स्वस्थ र नरम राख्न यी पाँच उपाय अपनाउनुहोस्। :
पहिलो – नियमित रूपमा मोइस्चराइजर प्रयोग गर्नुहोस्।
नुहाएपछि वा अनुहार तथा हातखुट्टा धोएपछि छाला हल्का ओसिलो हुँदै मोइस्चराइजर लगाउनुहोस्। जाडोमा पातलो लोशनभन्दा बाक्लो क्रिम वा मलम बढी उपयोगी हुन सक्छ।
दोस्रो – धेरै तातो पानीले ननुहाउनुहोस्।
जाडोमा धेरै तातो पानीले लामो समयसम्म नुहाउने बानीले छालाको प्राकृतिक तेल हटाउन सक्छ। त्यसैले मनतातो पानी प्रयोग गर्नुहोस् र नुहाउने समय छोटो राख्नुहोस्।
तेस्रो – छालामैत्री साबुन तथा फेसवास प्रयोग गर्नुहोस्।
धेरै सुगन्धयुक्त, कडा साबुन तथा छालालाई रुखो बनाउने उत्पादनको प्रयोग कम गर्नुहोस्। सकेसम्म कोमल र सुगन्धरहित क्लिन्जर प्रयोग गर्ने बानी बसाल्नुहोस्।
चौथो – चिसोबाट छालालाई जोगाउनुहोस्।
बाहिर निस्कँदा न्यानो लुगा, पञ्जा, टोपी तथा मफलर प्रयोग गर्नुहोस्। ओठ फुट्न नदिन लिप बामको प्रयोग गर्नुहोस्।
पाँचौँ – कोठाको वातावरण र छालाको हेरचाहमा ध्यान दिनुहोस्।
कोठाभित्रको हावा अत्यधिक सुख्खा भएमा ह्युमिडिफायर प्रयोग गर्न सकिन्छ। छाला धेरै घोट्ने, कडा स्क्रब गर्ने तथा बारम्बार तातो पानी प्रयोग गर्ने बानीबाट टाढा रहनुहोस्।
छाला अत्यधिक सुख्खा हुने, चिरा पर्ने, रगत आउने वा लामो समयसम्म चिलाउने समस्या भएमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुहोस्।


