काठमाडौं । मुलुकमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण तराई, उपत्यका तथा विभिन्न खोँच क्षेत्रहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईका जिल्लाहरूमा मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।


