एनपीएल : कर्णालीलाई हराउँदै लुम्बिनी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

एटुजेड समाचार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा प्लेअफ चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

बिहीबार सम्पन्न लो-स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी छँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

कर्णालीले प्रस्तुत गरेको १०६ रन सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गर्‍यो। यस जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ।

यता, प्रतियोगिताको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरे पनि लगातार चौथो हार बेहोरेको कर्णाली याक्सको प्लेअफ सम्भावना भने अत्यधिक कमजोर बनेको छ। सुरुवाती दुई खेलमा लगातार जित निकालेको कर्णाली त्यसयताका चारवटै खेलमा पराजित हुन पुगेको छ। हाल कर्णाली ६ खेलबाट ४ अंकसहित अंक तालिकाको सातौं स्थानमा सीमित छ।

सामान सामान्य लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९ रनको स्कोरबोर्डमै ३ महत्वपूर्ण विकेट गुमाएको थियो। आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १-१ रन तथा सन्दीप जोरा ४ रन बनाएर आउट भए।

त्यसपछि डार्शी सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै इनिङ्स उकासे। डिकवेलाले १३ बलमा १६ रन बनाए भने डार्शी सर्टले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रनको योगदान दिए।

सर्ट आउट भएपछि दिलीप नाथले संयमित ब्याटिङ गर्दै लुम्बिनीलाई जितसम्म पुर्याए। उनले २७ बलमा ४ चौकाको मद्दतमा अविजित २८ रन बनाए भने शमिम हुसेन ५ रन बनाएर आउट भए। दिलीपले हुसेन तलतको बलमा विजयी चौका प्रहार गर्दै टिमलाई जित दिलाए। कर्णालीका लागि बलिङतर्फ मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडन राख्दै मात्र १२ रन खर्चेर ४ विकेट हात पारे। त्यस्तै, पवन सर्राफ र हुसेन तलतले पनि १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९ ओभर २ बलमा १०५ रनमै अलआउट भएको थियो। कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्का प्र्रहार गर्दै सर्वाधिक २८ रन बनाए भने हुसेन तलतले २२ बलमा २४ रन जोडे।

त्यस्तै, गुल्सन झाले १३ र पवन सर्राफले १२ रन बनाए। १५ रनमै ४ विकेट गुमाएर संकटमा परेको कर्णालीका लागि पवन र सोमपालले चौथो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।

लुम्बिनीका लागि अभिषेक गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए भने रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट हात पारेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु