एनपीएल : लुम्बिनीका बलर चम्किँदा १०५ रनमै समेटियो कर्णाली याक्स

एटुजेड समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली याक्स १०५ रनमै समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। खेलको सुरुवातमै १५ रनको स्कोरबोर्डमा ४ महत्वपूर्ण विकेट गुमाएर धरमराएको कर्णालीको इनिङ्सलाई सोमपाल कामी र पवन सर्राफले सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूबीच चौथो विकेटका लागि ४० रनको साझेदारी भए पनि त्यसपछि आएका बलरहरूले टिकेर खेल्न नसक्दा कर्णाली सस्तोमै समेटिन पुग्यो।

कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक २८ रन बनाए भने हुसेन तलतले २२ बलमा २४ रन जोडे। त्यस्तै, गुल्सन झाले १३ रन बनाए भने पवन सर्राफले २४ बल खेल्दै १२ रन जोडे। टोलीका अन्य बलर तथा ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस सिजन पहिलो खेल खेल्दै इनिङ्सको सुरुवात गरेका ओपनिङ ब्याटर दीपेन्द्र रावत खाता नखोली आउट भए भने आरिफुल इस्लाम र दीपक डुम्रेले समान ४-४ रन बनाए। यसैगरी, नवनिर्वाचित कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर पेभेलियन फर्किए।

कर्णालीलाई सस्तोमै समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले कसिलो बलिङ गरे। लुम्बिनीका लागि अभिषेक गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान २-२ विकेट हात पारे। त्यसैगरी, रुबेन ट्रम्पलम्यान र शेर मल्लले पनि १-१ विकेट लिएर विपक्षी ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु