विदेशी पर्यटकसँगै सौराहामा भाइटीका, पूजाकली हात्तीलाई पनि लगाइयो सप्तरङ्गी टीका

एटुजेड समाचार

सौराहा – नेपाली कला, संस्कृति र परम्पराप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ। यसको सुन्दर उदाहरण बनेको छ चितवनको पर्यटकीय नगरी सौराहा, जहाँ विदेशी पर्यटकले नेपाली दाजुभाइसँगै सप्तरङ्गी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन्। दाजुभाइ, दिदीबहिनी र विदेशी पर्यटकसँगै हात्तीलाई समेत टीका लगाएर तिहारको खुसी साटासाट गरिएको छ।

सौराहास्थित होटल पार्क साइडका सञ्चालक दाजुभाइ शेरबहादुर परियार र शिरलाल परियारले यस वर्ष पनि विदेशी पर्यटकसँगै भाइटीका मनाएका हुन्। आफ्नी दिदी सावित्री परियारको हातबाट टीका लगाएका उनीहरूले आफूले पालनपोषण गर्दै आएको हात्ती पूजाकलीलाई समेत सप्तरङ्गी टीका र सयपत्री तथा सुपारी फूलको माला लगाइदिए। नेपाली परम्पराअनुसार हात्तीलाई समेत टीका र माला लगाइएको दृश्यले विदेशी पर्यटकको ध्यान आकर्षित गरेको थियो।

नेदरल्यान्ड्सबाट चितवन घुम्न आएका वाइसे र उनकी श्रीमती एलिसका लागि भाइटीकाको अनुभव विशेष बन्यो। करिब एक महिनाअघि नेपाल आएका उनीहरू काठमाडौँ हुँदै अन्नपूर्ण पदमार्ग, पोखरा र बन्दीपुरको भ्रमणपछि चितवन आइपुगेका हुन्। पहिलोपटक नेपाली भाइटीका पर्वमा सहभागी हुन पाउँदा उनीहरू निकै उत्साहित देखिन्थे। नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाउँदा आफूहरू खुसी भएको उनीहरूले बताए।

होटल पार्क साइडका सञ्चालक शेरबहादुर परियार आफूहरू २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेको बताउँछन्। विगत सात वर्षदेखि विदेशी पर्यटकसँगै नेपाली चाडपर्व मनाउने परम्परा सुरु गरिएको उनले जानकारी दिए। पर्यटकलाई घुमाउने र होटलमा राख्ने मात्र नभई नेपाली समाज, संस्कृति र चाडपर्वसँग प्रत्यक्ष जोड्न सके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनको विश्वास छ।

उनका भाइ शिरलाल परियारले पर्यटकलाई भाइटीकाको महत्त्व र नेपाली परम्पराबारे जानकारी गराउँदै पर्वमा सहभागी गराएका थिए। सप्तरङ्गी टीका, फूलमाला र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता देखेर विदेशी पर्यटक पनि रमाएका थिए।

यसैगरी, चितवनकै पहिलो पाँचतारे मान्यता प्राप्त होटल रोयल टुलिपका अध्यक्ष रामेश्वर शाहले पनि विदेशी पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका मनाएको देख्दा खुसी लागेको बताए। उनले आगामी वर्षदेखि आफ्नो होटलमा पनि विदेशी पर्यटकलाई नेपाली चाडपर्वमा सहभागी गराउने योजना रहेको सुनाए।

पर्यटन भनेको प्राकृतिक सुन्दरता र वन्यजन्तुको अवलोकन मात्र नभई स्थानीय संस्कृति, रहनसहन र परम्पराको अनुभव पनि हो भन्ने सन्देश सौराहाका पर्यटन व्यवसायीले दिएका छन्।

विदेशी पर्यटकलाई नेपाली चाडपर्वमा सहभागी गराउने यस्ता प्रयासले सौराहाको पर्यटनमा नयाँ आकर्षण थप्नुका साथै नेपालको मौलिक सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनसमेत सहयोग पुग्ने देखिन्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु