हलमा धमाका मच्चाइरहेको ‘जेलर २’ अब ओटीटीमा

एटुजेड समाचार

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा धमाका मच्चाइरहेका बेला अब दर्शकले घरमै बसेर पनि फिल्म हेर्न पाउने भएका छन्। हलमा अझै प्रदर्शनरत फिल्मको ओटीटी रिलिज मिति सार्वजनिक भएको छ। अमेजन प्राइम भिडिओले आगामी नोभेम्बर १२ अर्थात् कात्तिक २६ गतेदेखि फिल्म स्ट्रिमिङ गर्ने घोषणा गरेको हो।

नेपालका हलमा समेत प्रदर्शन भइरहेको फिल्म भारतसहित विश्वका २४० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध हुनेछ। दर्शकले तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड गरी पाँच भाषामा फिल्म हेर्न पाउनेछन्।

नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको फिल्ममा रजनीकान्त पुनः टाइगर मुथुवेल पाण्डियनको भूमिकामा देखिएका छन्। फिल्ममा मोहनलाल, ऋतिक रोशन र विजय सेतुपतिको विशेष उपस्थिति छ। त्यस्तै, एसजे सूर्या, शिवराजकुमार, मिथुन चक्रवर्ती, विद्या बालन, राम्या कृष्णन र योगी बाबुलगायत कलाकारको अभिनय छ।

‘जेलर २’को चर्चा यसको ओटीटी रिलिजमा मात्र सीमित छैन। फिल्मले बक्स अफिसमा पनि कीर्तिमानी व्यापार गरेको छ। व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने पोर्टल सैकनिल्कका अनुसार प्रदर्शनको २२औँ दिनसम्म फिल्मले भारतमा ५४५.३० करोड भारु ग्रस कमाइ गरेको छ। भारतीय नेट कलेक्सन ४६६.२२ करोड भारु पुगेको छ भने विश्वव्यापी कमाइ ८२० करोड भारु नाघेको छ।

यही सफलतासँगै ‘जेलर २’ तमिल फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। हलमा दर्शकको साथ पाइरहेको फिल्म अब ओटीटीमा पनि उत्तिकै लोकप्रिय हुन्छ वा हुँदैन भन्ने चासो बढेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु