काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि आठ विकेटको सानदार जित निकालेको छ ।
यो जितसँगै तीन खेलमा अपराजित लुम्बिनी पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित पोखरा अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।
टस हारेर ब्याटिङ गरेको पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११ ओभर ४ बलको समाप्तिमा ९८ रन बनाउँदै पूरा गरेको हो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । उसका लागि निरोशन डिकवेलाले २७ रन थपे । ओपनर आशिफ शेख ७ रनमा आउट हुँदा १३ रनमा पेभिलियन फर्किएका थिए ।
पोखराका लागि बिपिन खत्रीले एक विकेट लिए । अन्य पाँच जना बलरले भने कुनै पनि विकेट हात पार्न सकेनन् ।
सुरुमा ब्याटिङ गरेको पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाएका थिए । कप्तान कुशल भुर्तेलले १४ रन बनाउँदा माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन थपेका थिए ।
पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यानले तीन विकेट हात पार्दा तिलक भण्डारीले दुई विकेट लिएका थिए भने शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले एकएक विकेट हात पारेका थिए ।


