देशमा आतंक र गुण्डाराज चलेको छ, अब आन्दोलन गर्नुपर्ने बेला भयो : एमाले अध्यक्ष ओली

एटुजेड समाचार

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाउँदै आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। सरकार फासीवादतर्फ अघि बढिरहेको दाबी गर्दै ओलीले देशलाई थप संकटमा जानबाट रोक्न आन्दोलनको विकल्प नरहेको बताएका हुन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै एमाले अध्यक्ष ओलीले देशमा भयको वातावरण सिर्जना गरिएको आरोप लगाए।

राज्यले नागरिकलाई स्वतन्त्रताको उपयोग गर्न नसक्ने अवस्था बनेको उल्लेख गर्दै उनले मुलुकको अवस्था थप बिग्रन नदिन आन्दोलनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने जिम्मेवारी पार्टीको काँधमा आएको बताउँदै ओलीले सही नीति र विचारका आधारमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

गत वर्ष फागुन २१ गते भएको निर्वाचनलाई उनले चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खलाको संज्ञा दिए। एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने दाबीसमेत उनले गरे।

कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा एमालेका विभिन्न पदाधिकारी तथा नेताहरूको उपस्थिति रहेको थियो। सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले आन्दोलनको तयारीमा जोड दिँदै पार्टीलाई एकताबद्ध र अनुशासित भएर अघि बढ्न आह्वान गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु