मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

एटुजेड समाचार

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आज सूचना जारी गर्दै मिठाईमा प्रयोग हुने कच्चा पदार्थ तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि उपभोक्ताले उपोग गर्ने मिठाईलगायतका खाद्य पदार्थका बारेमा सुसूचित गराउन सबै ग्राहकले देख्नेगरी प्रयोग गरिएका कच्चा पदार्थ र मूल्यसूची राख्न आग्रह गरिएको छ ।

“सञ्चालकले आफूले उत्पादन गरेको मिठाई कुन–कुन मुख्य कच्चा पदार्थ मिसाएर बनाइएको हो, कुन तेल वा घिउ प्रयोग गरिएको हो र कुन मितिसम्म उपभोग गर्न मिल्छ भन्ने जानकारी उपभोक्ताले सजिलै देख्न सक्नेगरी राख्नुपर्नेछ”, प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले भोलि (बुधबार) देखि नै तोकिएको विवरण नराखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएकोे छ । प्रशासनले मिठाई व्यवसायीलाई निर्देशन पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छतामा ध्यान दिन अनुरोध गरेको छ । आगामी तिहार तथा छठ पर्वमा अरु समयको तुलनामा मिठाईको खपत बढी हुने गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु