काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ ।
काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको छ ।
उपत्यका फर्किने यात्रुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको कार्यालयले जनाएको छ ।
उपत्यकाका प्रमुख नाकाहरूबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए । दसैँ बिदा सकिएसँगै उनीहरू उपत्यका फर्किने क्रम बढेको छ ।


