काठमाडौं। विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढा-टाढासम्म यात्रा गरिरहेका छन्।
बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने विशेष परम्परा रहे पनि टाढा-डाढा रहेका माइती, मावली तथा आफन्तकहाँ एकै दिन पुग्न सम्भव हुँदैन। त्यसैले विजयादशमीपछिका दिनहरूमा पनि टीका लगाउने चलन रहँदै आएको छ।
दशैँको टीका लगाउने यो क्रम विजयादशमीदेखि सुरु भई कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्छ। विजयादशमीका दिन टीका थाप्न नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू यतिबेला मान्यजनकोमा पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।


