बडादशैंको महानवमी आज: शक्तिपीठहरूमा नवदुर्गाको विशेष पूजाआजा गरिँदै

एटुजेड समाचार

काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने बडादशैंको नवौँ दिन आज देशभर महानवमी पर्व धार्मिक विधिअनुसार नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाअर्चना गरिन्छ।

आजका दिन आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी राखिएको जमरा विभिन्न शक्तिपीठ, दशैँघर तथा कोतहरूमा लगी चढाइने गरिन्छ। देशका प्रमुख देवी मन्दिरहरूमा बलिसहित विशेष पूजाका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्रको पाठपारायण भइरहेको छ।

मार्कण्डेय पुराण अनुसार महानवमीका दिन नै देवी चामुण्डाले रक्तबीज राक्षसको वध गरेकी थिइन्। यसै पौराणिक मान्यताका कारण पनि महानवमी तिथिलाई विशेष महत्त्वका साथ लिइन्छ।

बलिसहित पूजा र पञ्चबलि

महानवमीका अवसरमा कतिपय शक्तिपीठहरूमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा छ। धेरैजसो स्थानमा महाष्टमीका दिन बलि दिइने र महानवमीका दिन ‘मार’ हान्ने चलन रहेको छ।

पशुबलि नदिने तथा शाकाहारीहरूले भने महानवमीका दिन कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलको बलि दिई खीर (पायस) चढाउने गर्छन्। यस दिन दुर्गाको प्रतीकका रूपमा ससाना कन्याहरूको पूजा गरी दक्षिणा र भोजन गराउने परम्परा पनि छ। साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक आराधना गरिन्छ।

कोतपूजा, निशानापूजा र हर्षबढाइँ

महानवमीका अवसरमा देशभरका कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गर्ने गरिन्छ। काठमाडौँको हनुमानढोका दरबारका साथै नेपाली सेनाका विभिन्न ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र परम्परागत कोतपूजा भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु