काठमाडौँ – सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरेका अर्यालको सचिवालयले जानकारी दिएको छ ।
सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी पनि कार्यवाहक राजदूत बाउल्डिनलाई गराए ।
जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता सुदृढीकरणका साथै यस विषयमा अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सभामुख अर्यालले जोड दिए ।भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा समेत विचार आदानप्रदान भएको थियो।


