कञ्चनपुर । दसैँ–तिहार मनाउन भारतबाट नेपालीहरू स्वदेश फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ। चाडपर्वका बेला भारतबाट भित्रिने यात्रुमा हुन सक्ने सङ्क्रामक रोगको पहिचान र संक्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ।
सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग, एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफसलगायत छ प्रकारका रोगको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टका अनुसार भारतबाट फर्किने नागरिकमा हुन सक्ने सङ्क्रामक रोगको समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो।
उनका अनुसार भारतका मलेरिया तथा डेङ्गुलगायत रोग बढी फैलिएका क्षेत्रबाट आएका यात्रु र ज्वरो आएका व्यक्तिलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ। परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भए अस्पतालमा लगेर निःशुल्क उपचार गरिने उनले बताए। टाढाका जिल्लाबाट आएका यात्रुमा सङ्क्रमण देखिए सम्बन्धित जिल्लाको अस्पतालसँग समन्वय गरी उपचारको व्यवस्था मिलाइने उनको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा हालसम्म दुई जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ भने अन्यमा सङ्क्रमण देखिएको छैन।
प्रहरीको तथ्याङ्कअनुसार अहिले गड्डाचौकी नाका हुँदै दैनिक करिब दुई हजार जना नेपाल फर्किरहेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली चाडपर्व मनाउन घर फर्किन थालेपछि नाकामा यात्रुको चाप बढेको हो।
यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकासहित जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि न्यूनीकरण गर्न सुरक्षा निगरानीसमेत बढाइएको उनले बताए।
भारतबाट स्वदेश फर्किने यात्रुको चाप बढेसँगै स्वास्थ्य परीक्षण र सुरक्षा व्यवस्था दुवैलाई प्राथमिकता दिइएको छ।


