अब नेपाल टेलिकमको सिमकार्ड घरघरमै उपलब्ध

एटुजेड समाचार

काठमाडौँ : सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै  नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन ।

यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन्। सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको ‘पोस्टल सिम पोर्टल’मा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।

नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्डमार्क), फोटो र नागरिकतारराहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ।

सिमका लागि ९० र हुलाक डेलिभरीका लागि ७० शुल्क लाग्ने छ। उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ । त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ।

सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याइदिने छन्।

सरकारले हुलाक सेवालाई सुदृढ गर्दै आधुनिक सरकारी कुरियर सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले यो सिम डेलिभरी सेवा सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पाइला भएको बताए। उनले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवा अनलाइनमा आधारित बनाउन आग्रह गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु