आजको मौसमः कर्णाली र सुदूरपश्चिममा भारी वर्षा र हिमपातको सम्भावना

एटुजेड समाचार

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका अन्य हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम सफा नै रहनेछ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम र एक-दुई स्थानमा भारी वर्षा वा हिमपातको जोखिम रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा समेत मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु