कृष्णभीरको विकल्पमा बेनीघाट–फिस्लिङ सडक : दुई लेनको ट्रयाक खोल्ने काम तीव्र

एटुजेड समाचार

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा विपद्का कारण सडक अवरुद्ध हुँदा यात्रुले भोग्नुपर्ने सास्तीलाई अन्त्य गर्न सरकारले ’बेनीघाट–फिस्लिङ वैकल्पिक सडक करिडोर’को स्तरोन्नतिलाई तीव्रता दिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार, वर्षायाम वा अन्य प्राकृतिक विपद्का बेला कृष्णभीरमा पहिरो गएर राजमार्ग बन्द भएको अवस्थामा साना सवारीसाधन सञ्चालन गर्न सकिने गरी यो वैकल्पिक सडकको निर्माण कार्य अघि बढाइएको हो ।

मन्त्रालयअन्तर्गतको सडक विभागले अहिले उक्त करिडोरको करिब २ किलोमिटर सडक खण्डमा दुई लेनको नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ । यसअघि नै प्रदेश सरकार र स्थानीय तहको सक्रियतामा सो सडक खण्डमा कालोपत्रे तथा अन्य निर्माण कार्यहरू भइरहेका थिए ।

प्रदेश र स्थानीय तहको सोही प्रयासलाई सघाउ पुर्‍याउने र बाटोलाई थप फराकिलो तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अतिरिक्त कामको रूपमा दुई लेनको ट्रयाक खोल्ने काम अघि बढाएको हो ।

विगतमा कृष्णभीरमा पहिरो जाँदा देशकै मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्ग महिनौँसम्म ठप्प हुने गरेको इतिहास छ । अहिले पनि बेलाबेलामा हुने अवरोधलाई ध्यानमा राख्दै यो वैकल्पिक मार्ग तयार पारिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु